लेकसाइडका ६ होटल रेस्टुरेन्टलाई उत्तम स्टिकर

समाधान संवाददाता २०७९ मंसिर २० गते १०:३३

पोखरा ।
पोखरा लेकसाइडका १४ होटल तथा रेस्टुरेन्टलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले स्वच्छता मूल्यांकन गरी स्तरीकरण प्रमाण पत्र दिएको छ । लेकसाइडका १४ मध्ये ६ होटल तथा रेस्टुरेन्टले स्तरीकरणको तह ‘उत्तम’ पाएका छन् ।

रेस्टुरेन्टका वर्गीकरणका लागि ५० प्रश्न रहेको प्रश्नावली सोधिन्छ । अति उत्तम श्रेणीको होटेल रेस्टुराँले तीन वटा तारा र हरियो स्टीकर पाउँछन् । यो लोगो पाउन होटेल रेस्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । तर, पोखराका कुनै पनि होटल रेस्टुरेन्टले अति उत्तमको स्टिकर पाएनन् ।

बरु उत्तम श्रेणीका २ वटा तारा र हरियो स्टिकर पाएका छन् । यो लोगो पाउन ८० भन्दा माथि ८९ सम्म अंक प्राप्त गर्नुपर्ने हुन्छ । उत्तम स्टिकर पाउनेमा माउन्ट कैलाश रिसोर्ट, फ्रेस इलिमेन्ट, वर पीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्री र अथिति रिसोट रहेको कार्यायलका प्रमुख शिवजी बरालले जानकारी दिए ।

Advertisement

कार्यालयले पोखराका होटल तथा रेस्टुरेन्ट स्तरीकरण थालेको छ । देशभरिका होटल रेस्टुरेन्टलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी वर्गीकरण गरिएको छ ।
सन्तोषजनकको लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्छ ।

यस्ता होटेल रेस्टुरेनटले एउटा तारा र हरियो स्टिकर पाउँछन् । लेकसाइडका ८ होटेल रेस्टुरेन्टले सन्तोषजनकको स्टिकर पाएका छन् । मेड फाइभ, हौबर क्याफे, प्याराडिसो, डुंगा रिसोर्ट, मुन डान्स, होटल साभा, होटल कौसी र होटल आइसल्यान्डले यो स्टिकर पाएका हुन् ।

Advertisement

सामान्य श्रेणीको लोगोमा सामान्य लेखेको स्टिक हुन्छ । यसमा ५० देखि ६४ बीचको अंक प्राप्त गर्नुपर्छ । व्यवसायीले लोगोको प्रकृतिब मोजिम प्रतिवद्धता जाहेर गरी स्तरीकरण लोगो पाएका हुन् ।

यसरी दिइएको स्तरीकरणको स्टिकर १ वर्षका लागि मान्य हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताका आधारमा होटल, रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिकाका अनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो, प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुन सक्ने व्यवस्था छ ।

पृथ्वीचोकका १७ होटल, रेस्टुरेन्टले उत्तमको स्टिकर पाएका छन् । निरीक्षणमा मापदण्ड पूरा नभई सुधार गर्नुपर्ने भेटिएका होटललाई सुधार गर्न निर्देशन दिइने बराल बताउँछन् । कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेस्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मूल्यांकन गरिने बरालले बताए ।

खानाको गुणस्तर, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग छ भन्ने जाँच गरेर मूल्यांकन गरिएको छ । पहिलो चरणमा १४ को बर्गीकरण गरिएको र अब सबै होटल, रेस्टुरेन्टले स्तरीकरण गर्नुपर्ने बरालको बताए ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले होटल व्यवसायीले ग्राहकलाई उपलब्ध गराएको खाद्य गुणस्तरका आधारमा स्टिकर प्रदान गरिने उल्लेख गरे । उनले प्रत्येक वर्ष गुणस्तरका आधारमा मूल्यांकन हुने जनाए ।

अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए एक महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए एक तह घटुवा गर्ने व्यवस्था निर्देशिकामा छ । स्तरीकरण मापदण्ड होटल व्यवसायीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तर अनुसार आफैंले राख्ने नम्बर भएको कोइरालाको भनाइ छ ।

लोगो, प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्छ । लोगो ग्राहकमाझ व्यवसायलाई चिनाउने माध्यम पनि भएको कोइरालाको भनाइ छ । उनले भने, ‘स्टिकर टाँस्दा ग्राहकले कुन रेस्टुरेन्ट व्यवसायी कस्तो चिन्ने मौका पाउँछन् । यसले व्यवसायीलाई सुधार गर्ने मौका दिन्छ । आफ्नो व्यवसायीलाई प्रमोसन गर्ने अवसर पनि हो ।’

तपाईको प्रतिक्रिया