प्याब्सन स्पोट्स मिट आजदेखि

समाधान संवाददाता २०७९ मंसिर २० गते ११:१२

पोखरा ।
निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (प्याब्सन)कास्कीले मंगलबारदेखि १७ ‌ औं प्याब्सन स्पोर्ट्स मिट २०७९ गर्न लागेको छ । ‘स्वस्थ मस्तिस्कको लागि खेलकुद’भन्ने नाराका साथ यही मंसिर २० देखि २९ गतेसम्म स्पोर्ट्स मिट गर्न लागेको संस्थाका अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिए ।

अनौपचारिक रुपमा मंसिर २० गतेदेखि हुने मिटको औपचारिक रुपमा मंसिर २५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने अध्यक्ष पौडेलले बताए । प्याब्सन कास्कीले शैक्षिक, सामाजिक, सांस्कृतिक, रचनात्मकका अलवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप गर्दै आएको छ । स्पोर्ट्स मिट गर्न ४५ देखि ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

स्पोर्ट्स मिटको दर्ता शुल्कबाट १४ देखि १५ लाखसम्म उठ्ने जानकारी दिँदै उनले संस्थाको जगेडा कोषका अलवा सम्बन्धित व्यवसायी संस्थाबाट सहयोग लिने बताए । अध्यक्ष पौडेलले संस्थाका सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थीको वृहत्तर हितका लागि कार्यक्रम गरेको बताए ।

Advertisement

‘खेलकुदले विद्यार्थीको खेल प्रदर्शन तथा विकासका लागि प्रत्येक २ वर्षमा स्पोर्ट्स मिट गर्दै आएको छ,’ अध्यक्ष पौडेलले भने, ‘प्रतियोगिताले समग्र कास्कीको खेलकुद क्षेत्रको विकासको लागि विशेष महत्व राख्छ । राष्ट्रिय खेलाडी उत्पादनको आधारको रुपमा स्पोर्ट्स मिटलाई लिन सकिन्छ ।’

स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्ममा विद्यार्थीबीच छात्र सिनियर जुनियर फुटबल, छात्र छात्रा भलिबल, छात्र छात्रा टेबल टेनिस, छात्र छात्रा एथलेटिक्स प्रतियोगिता हुनेछ । कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र छात्रा भलिबल, छात्र छात्रा बास्केटबल, छात्र छात्रा दौड जस्ता इभेन्ट्समा ७ हजार ७ सय १२ खेलाडीले भाग लिने अध्यक्ष पौडेलले बताए ।

Advertisement

उनले दैनिक ११ हजारभन्दा बढी अभिभावक तथा दर्शकले खेलकुद अवलोकन गर्ने बताए । प्याब्सनका केन्द्रीय सदस्य तथा कास्कीका प्रमुख सल्लाहकार प्रेमप्रसाद शर्माले संस्थामा आवद्ध १ सय २ निजी तथा आवासीय विद्यालयमध्ये ९० विद्यालयले भाग लिने बताए ।

उनले मार्चपासमा ५० विद्यालयले भाग लिने जानकारी दिए । प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीका अनुसार संस्थामा आवद्ध विद्यालयमा ७५ हजार विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा ७ हजार ३ सय शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष तथा स्पोट्स मिटका संयोजक उमा लामिछानेले सबै प्रतियोगितालाई व्यवस्थित रुपमा गर्न अध्यक्ष पौडेलको संयोजकत्वमा १३ सदस्यीय मुल समिति गठन गरेको जानकारी दिइन् । प्याब्सनका केन्द्रीय उपाध्यक्ष बीरबहादुर बुढाथोकीको संयोजकत्वमा निर्णायक समिति, सचिव पराजुलीको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति, कोषाध्यक्ष वेदप्रसाद बस्ताकोटीको संयोजकत्वमा आर्थिक तथा श्रोत व्यवस्थापन समिति, विधान गौतमको संयोजकत्वमा मार्चपास समिति गठन गरिएको छ ।

स्पोर्ट्स मिटका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा अतिथि व्यवस्थापन समिति मोहन पौडेलको संयोकत्वमा स्टेज निर्माण उपसमिति, जगत थापाको संयोजकत्वमा सिनियर फुटबल समिति, विष्णु जिसीको संयोजकत्वमा जुनियर फुटबल समिति गठन गरिएको सचिव पराजुलीले बताए ।

विष्णु तिमिल्सिनाको संयोजकत्वमा निमन्त्रणा तथा प्रतिनिधि व्यवस्थापन समिति, नवीन बरालको संयोजकत्वमा छात्र छात्रा भलिबल समिति, राम गुरुङको संयोजकत्वमा एथलेटिक्स, खेम गुरुङको संयोजकत्वमा कक्षा ११ र १२को बास्केटबल समिति गठन गरिएको छ ।

शेरबहादुर क्षत्रीको संयोजकत्वमा टेबल टेनिस, वरिष्ठ उपाध्यक्ष उमा लामिछानेको संयोजकत्वमा अतिथि सत्कार, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन समिति, दिवाकर जैशीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन समिति, डा टेकनारायण पौडेलको संयोजकत्वमा प्राथमिक उपचार, शिव गौतमको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति, प्याब्सन गण्डकी प्रदेश कमिटी अध्यक्ष दिनेशकुमार श्रेष्ठको संयोजकत्वमा सुपरभिजन तथा मनिटरिङ समिति गठन गरिएको सचिव पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया