दलहरू सच्चिने कि सक्किने ?

आरके पोख्रेल २०७९ मंसिर २२ गते १५:५३

लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । दलहरूले निर्वाचनमा आफ्ना विचार, एजेन्डा, विकास र समृद्धिका खाका घोषणापत्रमार्फत जनतामाझ प्रस्तुत गर्ने र जनताले ती विचारलाई समर्थन गर्ने वा नगर्ने भन्ने अधिकार रहेको हुन्छ । बहुदलीय व्यवस्थामा जनताले चुन्न र चुनिन पाउने अधिकार हुन्छ नै ।

बहुदलीय व्यवस्था भनेको नै दलहरूले आफ्ना–आफ्ना योजना/आगामी कार्यक्रम जनतामाझ प्रस्तुत गर्ने, जनताले कुन र कस्ता योजन तथा कार्यक्रमलाई समर्थन गर्ने ती समर्थन गरिएका दललाई मतदान गर्ने अधिकार रहेको हुन्छ ।

निर्वाचनका माध्ययमबाट दलका लागि/जनप्रतिनिधिहरूका लागि विगतमा भएका कमी, कजोरी सुधार गर्ने मौका प्राप्त हुन्छ । निर्वाचन भनेकै लोकप्रिय नेतृत्वलाई स्थापित गराउने र गलत नेतृत्वलाई पाखा लगाउने पद्धति हो । आफूलाई मन परेको दललाई समर्थन वा विरोध गर्न पाउने व्यवस्था नै लोकतन्त्र हो ।

Advertisement

लोकतान्त्रिक अभ्यास भनेको नै दलहरूबीच स्वच्छ प्रतिष्पर्धा हो । तर हामी लोकतान्त्रिक अभ्यासमा छौ त ? के हामीले दलहरू स्वच्छ प्रतिष्पर्धा गरेका छौं ? जसरी पनि आफूले जित्नैपर्ने नीतिले लोकतन्त्र बलियो बन्ला त ? हालै सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनमा हुँदा केही स्थानमा भए गरेका कुकार्य/गलत हर्कतका दृश्यले लोकतन्त्र बलियो होला कि कमजोर ? यी र यस्ता यावत् प्रश्नको जवाफ आज खोजिनु पर्दैन ?

निर्वाचजनमा विगतका कामका आधारमा दलहरू जनतामाझ पुगे वा गठबन्धन गरेर पुगे, जनताले स्वविवेकले मत हाल्न पाए कि पाएनन्, यसको खोजी हुनु पर्दैन ? बहुदलीय प्रतिस्पर्धा भनेको के हो, यसको जवाफ दिनु पर्दैन ? लोकतान्त्रिक अभ्यास यस्तै हुने गर्छ ? यसको जवाफ कस्ले दिने ?

Advertisement

नेपाली जनताले विगत लामो समयदेखिको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई यी र यस्तै कारणले बदनाम गराउन पाइन्छ ? समग्र निर्वाचनलाई नियाल्दा हालै सम्पन्न निर्वाचनमा नेपाली जनता कति जागरूप बने यसको गम्भीर समीक्षा हुनु जरूरी छ । जनता घरमै बस्न रूचाउने तर मतदान गर्न नरूचाउने कारण के हो ?

मतदान स्थलमा पुगेका जनताले पनि आफ्नो स्वविवेक प्रयोग गर्न पाएनन् किन ? प्रत्येक निर्वाचनमा नेपाली जनताले ज्यान गुमाउनैपर्ने परिपाटी कस्ले बसाल्यो ? हामीले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा चुनाव आएपछि कही न कही ज्यान नै गुमाउनुपर्ने अवस्था किन ?

नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि कतै गुम्दै त छैनन् ? दलहरूले नेपाली जनताको मर्म र भाव अनुसार कार्य नगरेकै कारण आज जनताले विकल्पको खोजी गरिरहेकै छन् । स्वतन्त्रहरूको आगमनलाई स्वागत नै छ तर स्वतन्त्रहरूको पछि लाग्नुपर्ने बाध्यता कतै दलहरूकै कारण त बनेन ?

लौरो, घन्टीहरूको आगमन न त संगठन छ, न त संघर्षको लामो इतिहास । र पनि लौरो, घन्टीहरू बजेकै छन् । यी बहुदलीय व्यवस्थाको चुनौति हुन् कि होइनन् ? लोकतन्त्रलाई लोकतन्त्र जस्तो बनाउन लागौं, सबै दल राष्ट्रिय हित, नेपाली जनताको हितमा लागौं ।

व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिँदै राष्ट्रिय हितका कार्यका जुटौं । सकिनुभन्दा सच्चिने उपाय खोजौं, राष्ट्र, राष्ट्रियता बचाउन लागाैं । देशलाई स्वार्थ पूर्ति गर्ने माध्ययमका रूपमा प्रयोग नगरौं । सत्तालाई निहित स्वार्थसँग नसाटौं । लोकतन्त्रका नाममा भएका गलत कार्यहरू दलहरू मिलेर नै हटाउन लागौं । नेपाली जनताले सदैव साथ दिएकै छन्, दिइरहने छन् ।

तपाईको प्रतिक्रिया