बाराही हाइड्रोको आइपिओ खुला

समाधान संवाददाता २०७९ मंसिर २२ गते १७:४५

काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले प्रति सेयर १ सय अंकत दरका ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको २ लाख ५० हजार कित्ता शेयरमा १ लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी १ लाख ४ हजारसहित ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

कम्पनीद्वारा निष्कासित सेयरमा २७ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

Advertisement

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले यही मंसिर २६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीले बागलुङको जैमिनी नगरपालिका वडा न. १, ४ र ५ मा पर्ने ठेउले खोलामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

Advertisement

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ । कम्पनीलाई इक्रा नेपालले ‘ईक्राएनपी– आइआर बी माइनस’ ग्रेडिङ प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया