मुस्ताङ : १३९६ सवारीलाई कारवाही गर्दा १३ लाख ६० हजार राजश्व

समाधान संवाददाता २०७९ मंसिर २२ गते १८:५५

जोमसोम– सडक सञ्जालले जोडिएको हिमाली जिल्ला मुस्ताङमा पाँच महिनामै १३ लाख ६० हजार ट्राफिक राजश्व संकलन भएको छ ।चालु वर्षको श्रावणदेखि मंसिर १८ गतेसम्ममा कुल १ हजार ३९६ वटा सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा कुल ९३० वटा सवारी साधानलाई कारवाही गर्दा ५ लाख ३६ हजार ट्राफिक राजश्व संकलन भएको थियो । यो समय कोरोना कहरका कारण मुस्ताङमा सवारी साधनको फलो कम थियो । गतवर्ष भने २ हजार १८४ वटा सवारी साधनलाई कारवाही गर्दा १३ लाख ७४ हजार राजश्व उठेको थियो ।

गतवर्षको तथ्यांक हेर्दा चालु वर्ष ट्राफिक राजश्व दोब्बरले वृद्धि हुनसक्ने जिल्ला ट्राफिक कार्यालय मुस्ताङका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक प्याम नारायण पौडेलले जानकारी दिए ।‘कोभिडपछि सवारी साधनको फलो बढ्दैछ,’उनले भने,‘ गतवर्ष उठेको राजश्व पाँच महिनामै संकलन भयो, फागुनदेखि असारसम्ममा राजश्व दोब्बरले वृद्धि हुँने हाम्रो अनुमान छ ।’

ट्राफिक कार्यालय मुस्ताङले चालुवर्षको श्रावणमा ११९ वटा सवारीलाई कारवाही गर्दा ८४ हजार ५ सय ,भदौमा १५८ लाई कारवाही गर्दा १ लाख १८ हजार ५ सय, असोजमा ३८४ लाई कारवाही गर्दा ३ लाख ५५ हजार ५ सय,कार्तिकमा ६२१ लाई कारवाही गर्दा ६ लाख ५१ हजार ५ सय र मंसिरको १८ गतेसम्म १४४ सवारी साधनलाई कारवाही गर्दा १ लाख ५० हजार ट्राफिक राजश्व संकलन गरेको हो । चालु वर्षको कार्तिक महिनामा सबैभन्दा बढी राजश्व संकलन भएको ट्राफिक ईञ्चार्ज पौडेलले बताए ।
‘अहिले सम्म यति ठुलो रकम एकै महिनामा उठेको थिएन,तिहार र छट पर्वमा सवारी साधनको फलो र कारवाहीमा पर्दा उक्त रकम उठेको छ ।’ कोभिड संक्रमणको जोखिम अघि मुस्ताङमा औसत वार्षिक १८ लाखसम्म राजश्व उठ्ने गरेको उनले उल्लेख गरे ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सडकको पहुँच सहज हुँदै जान थालेपछि जिल्लाबाहिरबाट उल्लेख सवारी साधन मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ र म्याग्दीको सीमावर्ती क्षेत्र घाँसा प्रहरी चेक पोष्ट,जोमसोम,कागबेनी र मुक्तिनाथमा ट्राफिक प्रहरीहरुले सवारी साधनको चेकजाँच र निगरानी गर्ने गरिएको छ ।

Advertisement

मुस्ताङ भित्रिएका सवारी साधनलाई ट्राफिक कार्यालय मुस्ताङले ट्राफिक नियम उलंघन गरी सवारी चलाउने चालक,मापसे सेवन गरी सवारी चलाउने चालक ,तीब्र गतिमा सवारी चलाउने चालक,हेलिमेट नलगाउने र मोटरसाईकलमा क्षमता भन्दा बढी मानिस राख्ने ,क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने , प्रयोजन विपरित सवारी चलाउने र सवारी साधनको आवश्यक कागजात नलिई सवारी चलाउने आदीलाई जरिवाना रकम लिएर कारवाही गर्ने गरिएको छ । यो उठेको रकम नेपाल सरकारको राजश्व खातामा जम्मा हुने ट्राफिक कार्यालय मुस्ताङको भनाई छ ।
मुस्ताङमा भित्रिएका र स्थानीय स्तरमा संञ्चालन हुँने सवारी साधनले ट्राफिक मापदण्ड विपरित सवारी साधन चलाएमा जरिवाना रकम उठाउने गर्छ । यो मापदण्ड यातायात कार्यालयले तोकेको प्रावधान अनुसार हुँने गर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया