मध्यराति तिब्बत छिर्न खोज्ने महिला पक्राउ

समाधान संवाददाता २०७९ मंसिर २३ गते १४:१२

जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बत छिर्न खोज्ने महिलालाई कोरला नाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मीले नेपाली पक्षलाई जिम्मा लगाएका छन् । मंगलबार राति करिब १० बजे उत्तरी कोरलानाका स्थित २४ नं. पिल्लर हुँदै तिब्बत छिर्ने क्रममा एक मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी ४० वर्षीया महिलालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

भारतीय मुलकी जस्तो देखिने र आफूलाई जानू भन्ने ती महिलालाई कोरला नाकामा ड्युटीमा खटिएका चिनियाँ सुरक्षाकर्मीले बुधबार बिहान नेपाल पक्षलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए ।

कालो वर्ण भएकी ती महिला नेपाली भाषा बोल्न र अरुले बोलेको समेत बुझ्न सक्दिनन् । तिब्बत छिर्न खोज्ने क्रममा पक्राउ परेकी ती महिलालाई चिनियाँ सुरक्षाकर्मीले सीमा प्रहरी चौकी लोमान्थाङलाई जिम्मा लगाएको हो ।

Advertisement

ती महिलालाई लोमान्थाङबाट सदरमुकाम जोमसोम ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ‘कोरलामा भेटिएकी महिलालाई हामीले अहिले उद्धार गरी जिम्मा लिएका छौं । उनी को हुन्, कहाँबाट आएकी हुन् सोधखोज हुँदै छ,’ सूचना अधिकारी तामाङले भने, ‘महिलाको पहिचानका लागि पोखरा स्थित भारतीय दूतावासका प्रतिनिधिसँग पनि कुराकानी भइसकेको छ ।

पहिचान नभएमा उनलाई मानव सेवा आश्रम बागलुङमा पठाउने छौं ।’ उनको नाम, थर, ठेगाना पत्ता लाग्न सकेको छैन । हिउँद याममा उपल्लो मुस्ताङमा अत्यधिक चिसो छ । प्रतिकूल मौसममा पनि ती महिला राति पैदलै हिडेर कसरी कोरला नाकामा पुगिन् भन्ने चासो छ ।

Advertisement

कोरला नाकामा यसअघि पनि बेला बेला चिनियाँ सुरक्षाकर्मीले तिब्बत छिर्न खोज्दा मानिसलाई नियन्त्रणमा लिँदै आएको छ । २०७८ साल चैत महिनादेखि हालसम्म ४ जनालाई तिब्बत छिर्न खोज्ने क्रममा चिनियाँ सुरक्षाकर्मीले पक्रेर नेपाली पक्षको जिम्मा लगाएका छन् ।

२०७८ चैत्र १९ गते कोरला नाकाको २४ नं. पिल्लर क्रस गरी तिब्बत छिर्न खोज्दा २१ वर्षीय सुकुर उर्फ राज नाम गरेका भारतीय नागरिक पक्राउ परेका थिए । २०७८ साउन २२ गते ४४ वर्षी तिब्बती भिक्षु पनि कोरलानाकामा पक्राउ परेका थिए । तिब्बतबाट भागेर लामो समय भारतमा निर्वासित जीवन बिताइरहेका ती भिक्षुले तिब्बतमा आमा भेट्न हिडेको बताएका थिए । उनी मुख्य नाका छलेर अन्य नाकाबाट तिब्बत छिर्न खाजेका थिए ।

२०७८ असार २२ गते उपल्लो मुस्ताङ हुँदै उत्तरी कोरलानाकाबाट तिब्बत छिर्न खोजेकी एक मानसिक सन्तुलन ठिक नभएकी महिलालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । ती महिलालाई मुस्ताङ प्रहरीले उद्धार गरी मानव सेवा आश्रममा पठाएको थियो ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भौगोलिक, सामरिक र सीमाक्षेत्रका हिसाबले संवेदनशील छ । नेपाली पर्यटक सहजै कोरलानाकाको दशगजा दक्षिण भागको २४ नं. सम्म पुग्न सक्छन् । तेस्रो मुलुक र सार्क देशका पर्यटक लोमान्थाङको छोसेर खोला कटेर सीमा क्षेत्रमा जान पाउँदैनन् । उपल्लो मुस्ताङ घुम्न जान विदेशी पर्यटकले नेपाल सरकारलाई ५ सय डलर रोयल्टी बुझाउनुपर्छ ।

तिब्बतमा भएको खम्बा विद्रोहपछि मुस्ताङको उत्तरी कोरला नाकामा चिनियाँ पक्षले सुरक्षा निगरानी कडा गर्दै आएको छ । नाकामा मानव तस्करी तथा अवैध क्रियाकलाप बढ्न थालेपछि त्यहाँ सिसी क्यामेरा र बलियो तारबार लगाइएको छ ।

तपाईको प्रतिक्रिया