मुस्ताङमा साढे १३ लाख ट्राफिक राजस्व

समाधान संवाददाता २०७९ मंसिर २५ गते १३:४४

जोमसोम ।
सडक सञ्जालले जोडिएको हिमाली जिल्ला मुस्ताङमा ५ महिनामै १३ लाख ६० हजार ट्राफिक राजस्व संकलन भएको छ । चालु वर्षको साउदेखि मंसिर १८ गतेसम्ममा १ हजार ३९६ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल ९३० वटा सवारी साधानलाई कारवाही गर्दा ५ लाख ३६ हजार ट्राफिक राजश्व संकलन भएको थियो । यो समय कोरोना कहरका कारण मुस्ताङमा सवारी साधनको फलो कम थियो । गत वर्ष भने २ हजार १८४ वटा सवारी साधनलाई कारबाही गर्दा १३ लाख ७४ हजार राजस्व उठेको थियो ।

गत वर्षको तथ्यांक हेर्दा चालु वर्ष ट्राफिक राजस्व दोब्बरले वृद्धि हुन सक्ने जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्यामनारायण पौडेलले जानकारी दिए । ‘कोभिडपछि सवारी साधनको फलो बढ्दैछ,’ उनले भने, ‘गत वर्ष उठेको राजस्व पाँच महिनामै संकलन भयो, फागुनदेखि असारसम्ममा राजस्व दोब्बरले वृद्धि हुँने हाम्रो अनुमान छ ।’

Advertisement

ट्राफिक कार्यालय मुस्ताङले चालुवर्षको साउनमा ११९ वटा सवारीलाई कारबाही गर्दा ८४ हजार ५ सय ,भदौमा १५८ लाई कारबाही गर्दा १ लाख १८ हजार ५ सय, असोजमा ३८४ लाई कारबाही गर्दा ३ लाख ५५ हजार ५ सय, कात्तिकमा ६२१ लाई कारबाही गर्दा ६ लाख ५१ हजार ५ सय र मंसिरको १८ गतेसम्म १४४ सवारी साधनलाई कारबाही गर्दा १ लाख ५० हजार ट्राफिक राजस्व संकलन गरेको हो । चालु वर्षको कात्तिक महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको ट्राफिक इन्चार्ज पौडेलले बताए ।

‘अहिले सम्म यति ठूलो रकम एकै महिनामा उठेको थिएन, तिहार र छट पर्वमा सवारी साधनको फलो र कारबाहीमा पर्दा उक्त रकम उठेको छ ।’ कोभिड संक्रमणको जोखिम अघि मुस्ताङमा औसत वार्षिक १८ लाखसम्म राजस्व उठ्ने गरेको उनले उल्लेख गरे ।

Advertisement

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सडकको पहुँच सहज हुँदै जान थालेपछि जिल्लाबाहिरबाट उल्लेख सवारी साधन मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ र म्याग्दीको सीमावर्ती क्षेत्र घाँसा प्रहरी चेक पोष्ट, जोमसोम, कागबेनी र मुक्तिनाथमा ट्राफिक प्रहरीहरुले सवारी साधनको चेकजाँच र निगरानी गर्ने गरिएको छ ।

मुस्ताङ भित्रिएका सवारी साधनलाई ट्राफिक कार्यालय मुस्ताङले ट्राफिक नियम उलंघन गरी सवारी चलाउने चालक, मापसे सेवन गरी सवारी चलाउने चालक, तीब्र गतिमा सवारी चलाउने चालक, हेलिमेट नलगाउने र मोटरसाइकलमा क्षमताभन्दा बढी मानिस राख्ने, क्षमताभन्दा बढी यात्रु राखी सवारी चलाउने, प्रयोजन विपरीत सवारी चलाउने र सवारी साधनको आवश्यक कागजात नलिई सवारी चलाउने लगायतलाई जरिवाना रकम लिएर कारबाही गर्ने गरिएको छ । यो उठेको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने ट्राफिक कार्यालय मुस्ताङको भनाइ छ ।

मुस्ताङमा भित्रिएका र स्थानीय स्तरमा सञ्चालन हुने सवारी साधनले ट्राफिक मापदण्ड विपरीत सवारी साधन चलाएमा जरिवाना रकम उठाउने गर्छ । यो मापदण्ड यातायात कार्यालयले तोकेको प्रावधान अनुसार हुने गर्छ ।

तपाईको प्रतिक्रिया