सहायक कर्मचारीको भरमा मुस्ताङका कार्यालय

समाधान संवाददाता २०७९ मंसिर २५ गते १९:५६

जोमसोम–हिउँदयामको अत्यधिक चिसो बढेसंगै मुस्ताङका अधिकाँश कार्यालय सुनसान जस्तै छन् ।जिल्ला स्थित संघीय तथा प्रादेशिक कार्यालयहरु अहिले कार्यालय प्रमुख विहिन बनेका छन् ।सहायक कर्मचारीको भरमा जिल्लाका कार्यालय खुल्ला गरिएको छ ।

मुस्ताङमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन लगत्तै मुस्ताङका कार्यालय सुनसान बनेका हुन् । अत्यधिक चिसो,हिमपातको सम्भावना र जिल्लामा सेवाग्राही न्यून हुँदा जिल्ला स्थित सरकारी कार्यालयहरु सुनसान बनेको हो । मुस्ताङमा चिसो बढेसंगै विकास निर्माणका काम ठप्पै छन् ।सेवामूलक कार्यालयमा पनि सेवाग्राही नहुँदा जिल्लाका कर्मचारी जिल्ला छाडेका हुन् । अहिले मुस्ताङका कतिपय कार्यालय कार्यालय सहयोगीको भरमा छाडिएका छन् भने कतिपय कार्यालयहरु सीमित मात्र कर्मचारी छन् ।
हिउँदयामको चिसोसंगै जिल्ला बाहिरिएका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरु कार्यालय प्रयोजन अन्तर्गत अन्तरक्रिया,सम्मेलन,गोष्ठि,कार्यालयको कामकाज ,बिदामा बसेको,परिक्षा दिने ,उपचार र अन्य व्यक्तिगत प्रयोजनका लागि भनेर जिल्ला बाहिर रहेको सम्वन्धित निकायमा रहेका कर्मचारी र कार्यालय सहयोगीहरु बताउँछन् । कतिपय कार्यालयले दोहोरो जिल्लामा कार्यालय रहेको बताएका छन् भने कतिपय कार्यालय कर्मचारी फिल्ड भिजिटमा गएको जानकारी दिएका छन् ।
जिल्ला स्थित सेवाग्राहीहरुको गुनासो बढेपछि स्थानीय पत्रकारहरुले आईतबार जिल्ला स्थित सरकारी कार्यालयहरुको छड्के अनुगमन गरेका थिए ।कार्यालय अनुगमनका क्रममा संघीयतर्फ राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना,शिक्षा विकास तथा समन्वय ईकाई,जिल्ला हुलाक कार्यालय ,कोष तथा लेखा नियन्त्रक र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई कार्यालय प्रमुख उपस्थित थिएनन् । संघीय तर्फ एक्याप,नेपाल टेलिकम र जिससका कार्यालयमा भने कार्यालय प्रमुख उपस्थित थिए ।
यसैगरी प्रदेशतर्फ पूर्वाधार विकास, खानेपानी जलश्रोत तथा सिचाई विकास सवडिभिजन,डिभिजन बन,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,कृषि ज्ञान केन्द्र लगायतमा कार्यालय प्रमुख उपस्थित थिएनन् ।
मुस्ताङका अधिकाँश संघीय तथा प्रादेशिक कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी छैनन् । जिल्लामा दरबन्दी प्राप्त अधिकाँश कार्यालयमा कर्मचारी छैनन् । सरकारी कार्यालयमा अहिले कार्यालय प्रमुखसंगै,प्राविधिक,लेखापाल आदीले जिल्ला छाडेका हुन् । मुस्ताङका निमित्त प्रजिअ रामचन्द्र ढकालले मौसम प्रतिकुलता र सेवाग्राही नभएको बहानामा कर्मचारीले जिल्ला छोड्न नमिल्ने बताए । उनले सरकारी कार्यालयका कर्मचारीले बिदा स्वीकृत आफैले गर्ने गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया