हिमचितुवाकाे आक्रमणबाट १२ च्यांग्रा मरे

सुन्दरकुमार थकाली २०७९ मंसिर २६ गते ११:५३

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ चैलेमा हिमचितुवाको आक्रमणमा परी १२ च्यांग्रा मरेका छन् । सोमबार स्थानीय पशुपालक ताक्ला गुरुङका १२ च्यांग्रा हिमचितुवाले आक्रमण गरी मारेको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

च्यांग्रा गोठमा बिहान करिब ३ बजेतिर अचानक हिमचितुवा खोरभित्रै पसेर आक्रमण गरी च्यांग्रा मारेको पशुपालक किसान ताक्ला गुरुङले जानकारी दिए । करिब ३ लाख ६० हजार क्षति भएको उनले उल्लेख गरेका छन् । पशुपालक गुरुङले क्षति भएको च्यांग्राको विवरण, मुचुल्का र निवेदनसहित एक्याप जोमसोममा उचित क्षतिपूर्ति माग गरेका छन् ।

हिमचितुवा पीडितले बुझाएको क्षतिपूर्ति मागपत्र र विवरण आवश्यक छानबिन गरी एक्यापको प्रधान कार्यालय पोखरामा पठाइने कार्यालय प्रमुख अशोक सुवेदीले बताए । उनले नेपाल सरकारद्वारा जारी गरिएको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निर्देशिका ०६९ र चौथो संशोधन २०७५ बमोजिम पीडितले क्षतिपूर्ति पाउने जानकारी दिए ।

Advertisement

हिमाली जिल्ला मुस्ताङ एक्यापको सरक्षित क्षेत्र अन्तर्गत पर्दछ । संरक्षित क्षेत्रमा हिमचितुवा लगायतका वन्यजन्तुले स्थानीयका पशुधन र बालीनालीमा क्षति गर्ने गरेका छन् । मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालक किसान सास्ती भोग्न बाध्य छन् । बर्सेनि हिमचितुवा खोरभित्रै पसेर पशुचौपायालाई आक्रमण गर्ने गर्दा पशुपालकले निर्धक्क पशुपालन व्यवसाय गर्न नसकेको लाक्पा गुरुङले उल्लेख गरे ।

हिउँद यामको समयमा उच्च लेकमा घाँसको समेत अभाव हुने र वन्य जन्तु न्यानो खोज्दै बस्तीनजिक आउँछन् । यसरी वन्यजन्तु बस्ती नजिक आउँदा आहारा खोज्दै हिमचितुवा बस्ती नजिक आउने गर्छन् । हिमचितुवाले भनेको समयमा आहारा नपाउँदा पशुचौपायामाथि आक्रमण गर्ने गरेको एक्याप प्रमुख सुवेदी बताउँछन् ।

Advertisement

मुस्ताङमा हिमचितुवाले बढी क्षति घरपझोङ गाउँपालिकाको ठिनी र जोमसोममा पु¥याएको छ । विगतमा हिमचितुवाले ठिनीका च्याङबहादुर थकाली, मानबहादुर थकाली, भीमकुमारी थकाली, पलडिसी थकालीका दर्जन च्यांग्रा पारेको थियो ।

मुस्ताङमा बर्सेनि हिमचितुवाले पशुचौपायालाई आक्रमण गरी क्षति पुर्‍याउने गरे पनि यसको दीर्घकालीन समाधान नहुँदा पशुपालकमा हिमचितुवाको त्रास थपिएको हो । एक्यापले क्षतिपूर्ति दिए पनि सो रकम निकै कम हुने ठिनीका पशुपालक च्याङबहादुर थकाली बताउँछन् ।

थासाङमा कालो भालुको आतंक
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाका ५ वटै वडामा हिमाली कालो भालुको आतंकले किसान प्रताडित बनेका छन् । थासाङको सौरु, कोवाङ, खन्ती, लार्जुङ, टुकुचे, बोक्सी खोला, नाउरिकोट, नाकुम, कुञ्जो, टिटी, झिप्रा देउराली, सिर्खुम लगायतका गाउँमा कालो भालुले बालीनाली सखाप पारिँदिने गरेको छ ।

भालुबाट त्यस क्षेत्रका किसान पीडित बनेको संरक्षण व्यवस्थापन समिति लार्जुङका अध्यक्ष जीवन थकालीले बताए । बर्सेनि कालो भालुले खेतबारीमा पसेर अन्नबाली नष्ट गरिदिने गरेको छ । किसानले लगाएको उवा, फापर, जौ, मकै, स्याउ लगायत, तरकारीसमेत कालो भालुले खाईदिने गरेको संरक्षण व्यवस्थापन समिति अध्यक्ष थकालीको भनाइ छ ।

ओमविकास तथा देउकुमारी फाउन्डेसनको समन्वयमा महावीर पुनको राष्ट्रिय आबिस्कार केन्द्रमा बनेको भालु धपाउने यन्त्र अनुदानमा उपलब्ध प्राप्त भए पनि त्यसको प्रभावकारित नदेखिएको थकालीले बताए । थासाङ गाउँपालिकाको विशेष अनुदानमा भालु धपाउने उपकरण ५ वटै वडालाई उपलब्ध गराइएको थियो ।

‘भालु धपाउने यन्त्र पालिकाको अनुदानमा आयो, सुरुआती वर्षमा उपकरणको प्रभाकारिता रह्यो,’ संरक्षण व्यवस्थापन समिति अध्यक्ष थकालीले भने, ‘दोस्रो वर्षदेखि उपकरणको खासै प्रभावकारिता रहन सकेन ।’ भालुले उपकरणको आवाज बुझिसकेकाले प्रभावकारिता कम हुन पुगेको उनले बताए ।

हिमाली कालो भालु पीडित किसानलाई एक्याप जोमसोमले राहत वितरण गरेको छ । थासाङमा किसानले खेतबारीमा लगाएको मकै भालुले सखाप पारिदिएपछि किसानलाई क्षतिपूर्ति दिइएको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउन, भदौ महिनामा क्षति भएको मकैको राहत एक्यापले वितरण गरेको हो । कोवाङमा २० घरधुरी, कुञ्जोमा ६४ घरधुरी र लेतेमा ९ घरधुरी गरी ९३ घरधुरीलाई १ लाख ५० हजार राहत वितरण गरिएको एक्यापले जनाएको छ । एक्यापले सो क्षेत्रका किसानलाई अन्नबाली क्षति भएवापत गत वर्ष २ लाख ३० हजार राहत दिएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया