नयाँ सांसदलाई प्रदेश सभामा ‘रेड कार्पेट’

सञ्जय रानाभाट २०७९ मंसिर २८ गते १०:२९

पोखरा ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आएसँगै गण्डकी प्रदेश सभामा नयाँ सांसदका लागि रातो कार्पेट बिछ्याइएको छ । प्रदेश सभामा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्न रातो कार्पेट बिछ्याउन सांसद सचिवालयका कर्मचारी सक्रिय छन् । नयाँ सांसदलाई स्वागत गर्नेदेखि प्रदेश सभालाई सजाउन कर्मचारीलाई भ्याइ नभ्याइ छ ।

गण्डकीको राजधानी पोखराको नदीपुरस्थित प्रदेश सभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, सत्ता पक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालयमा टेबल कुर्सी सोफासेट र कार्पेट र भित्तामा रङरोगनको काम भइरहेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेस पहिलो दल बनेको छ ।

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट ल्याएर पहिलो दल बनेको हो । कांग्रेसपछि एमाले दोस्रो दल बनेको छ । एमालेले २२ सिटसहित दोस्रो दल बन्यो । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट पाएको हो । यस्तै, माओवादी केन्द्र ८ सिटसहित तेस्रो दल बनेको छ ।

Advertisement

माओवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट ल्याएको हो । सरकार निर्माणमा माओवादी निर्णय पनि देखिएको छ । निर्वाचनमा पहिलो र दोस्रो भएका कांग्रेस—एमालेले सरकार निर्माण गर्न चाहे माओवादी निर्णायक देखिन्छ ।

माओवादीले दुवै दलमध्ये जुन सुकैलाई समर्थन गर्छ सोही पार्टीको सरकार बन्ने सम्भावना छ । तर, प्रदेशमा चौथो दल बन्दै उदाएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले पनि समानुपातिकमा १ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा स्वतन्त्र निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै १ सिट बनाउन सफल भएको छ ।

Advertisement

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सचिवालयले सांसदलाई स्वागत गर्न र सांसद भवन मर्मत गर्नेदेखि सभा सञ्चालन गर्ने, सांसदहरूको कार्यालय व्यवस्थापनको काम तीव्र रूपमा चलिरहेको बताए । उनले प्रदेश सभा पदाधिकारीलाई दिने सवारी पनि मर्मत गरेर राखिएको सुनाए । उनले भने, ‘नयाँ सांसदहरूको स्वागतदेखि पहिलो बैठकको तयारीमा हामी लागिसकेका छौँ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया