वारागुङ मुक्ति क्षेत्रमा सिसी क्यामेरा

सुन्दरकुमार थकाली २०७९ मंसिर २८ गते १३:४४
तस्बिर: प्रमिस गुरुङ

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ का ४ वटा गाउँमा आइतबारदेखि धमाधम सिसी क्यामेरा जडान भइरहेको छ । वारागुङ वडा १ को मुक्तिनाथ रानीपौवा, झारकोट, खिङ्गा र लुप्रा गाउँमा क्यामेरा जडानसुरु गरिएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित करिब ५० लाख बजेटमध्ये क्यामेरा जडान गर्न ८ लाख बजेट छ । हिन्दू तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथको रानीपौवा बजारक्षेत्र, झारकोट, खिङ्गा र लुप्रा गाउँका लागि १३ वटा क्यामेरा जडान हुने छन् ।

सडक सञ्जाल सहज बर्सेनि मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएकाले शान्ति, सुरक्षालाई थप सुदृढ बनाउन, दुर्घटना र अपराध घटाउन वडा स्तरको बजेटले क्यामेराको व्यवस्थापन गरिएको वडाध्यक्ष प्रमिस गुरुङले बताए ।

Advertisement

‘विगतमा पनि छिटफुट अपराधि घटना घटेका थिए, त्यसको अत्तोपत्तो लाग्न सकेन,’ वडाध्यक्ष गुरुङले भने, ‘अब त्यस्ता घटना रोक्न र सम्भावित घटना छिटो, छरितो पत्ता लगाउन सिसी क्यामेराबाट निगरानी गर्ने योजना बनाएका हौं ।’

क्यामेरा जडान गर्न सन टेक्नोलोजी कम्पनीले ७ लाख ९२ हजारमा ठेक्का सम्झौता गरेको हो । यसका लागि कम्पनीका प्राविधिक शिवप्रसाद बस्ताकोटी, नारायण भट्ट र विनोदचन्द्र रेग्मी फिल्डमा खटिएका छन् । उनीहरुले एक साताभित्र वारागुङ १ को ४ वटा गाउँमा क्यामेरा जडान गरिसक्ने बताएका छन् ।

Advertisement

कम्पनीले नयाँ भर्सनको दावा कम्पनीमा बनेको फोर एमपिएस क्षमताका १३ थान सिसी क्यामेरा जडान गर्न लागेको कम्पनीका प्राविधिक नारायण भट्टले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ रानीपौवामा ४ वटा, झारकोट, खिङ्गा र लुप्रा गाउँमा समान ३ वटा सिसी क्यामेरा जडान गरिने उनले बताए ।

नयाँ भर्सनको सिसी क्यामेराले निगरानी गर्न ४ वटा कम्प्युटर सिस्टम र ४ मनिटर राखिनेछ । दिन र रातको समयमा पनि एउटै प्रकारले भिडियो कैद गर्न सक्ने क्यामेराले औसत ४०देखि ५० मिटर परको भिडियो स्पष्ट कैद गर्ने प्राविधिक भट्टको भनाइ छ ।

‘यो क्यामेरा दावा कम्पनीको नयाँ भर्सन हो, यसले रातिको समयमा पनि दिउँसोको जस्तै भिडियो खिच्ने क्षमता राख्दछ,’ उनले भने, ‘अहिले हामीले ७० देखि ८० मिटरसम्मको भिडियो खिच्ने सेटिङ मिलाएका छौं ।’ उनले वडा कार्यालयको भवनमा सिसी क्यामेराको कन्ट्रोल रुम रहने र त्यसपछि इलाका प्रहरी कार्यालयमा समेत राखिने जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया