जोमसोममा बसपार्क बन्यो

सुन्दरकुमार थकाली २०७९ मंसिर २९ गते १०:५३

जोमसोम ।
मुस्ताङ सदरमुकाम जोसमोममा बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । २०७३ देखि सुरु गरिएको जोमसोम बसपार्कको काम अन्तिम चरणमा पुगेको हो । सहरी विकास तथा भवन डिभिजन विभागले जोमसोम बसपार्क बनाएको हो ।

२ करोड ५१ लाख लागत स्टमेट गरिएको बसपार्कको अहिले ९० प्रतिशत काम सकिएको छ । सडक सञ्जाल सहज भएसँगै मुक्तिनाथ मन्दिरको दर्शन र मुस्ताङ घुम्ने पर्यटक सवार सवारी साधनले जोमसोम बजार क्षेत्रमा पार्किङ असहज बनेको छ । पार्किङ अव्यवस्थित बनेपछि विभागले सदरमुकाम जोमसोममा व्यवस्थित पार्किङसहितको बसपार्क निर्माण थालेको हो ।

रनवे कालोपत्र र केही फिनिसिङको काम बाँकी छ । बनेपछि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण हुनेछ ।

Advertisement

बसपार्क निर्माण हुँदै गर्दा संघीय व्यवस्था कार्यान्वयनमा आउँदा बसपार्कको काम हेर्ने अख्तियारीसमेत फेरिएको थियो । संघीयतापछि बसपार्क निर्माणको जिम्मा संघीय आयोजना इकाइ पोखरालाई हस्तान्तरण भएको थियो । अहिले सो बसपार्कको अख्तियारी सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले हेरेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले जोमसोममा निर्माणाधीन बसपार्कलाई एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बसपार्कको अधुरो संरचना निर्माणको कामअघि बढाएको आयोजनाका इन्जिनियर प्रविन अधिकारीले जानकारी दिए । आयोजनामा आर्थिक वर्ष २०७७/०७८ मा करोड ३६ लाख ८३ हजार र गत आर्थिक वर्षमा ९५ लाख २२ हजार बजेट विनियोजन भएको थियो ।

Advertisement

बसपार्क निर्माणका लागि आवश्यक टिकट काउन्टर, शौचालय, खानेपानी, कम्पाउन्ड वाल र बसपार्कको दुईतर्फी प्रवेशद्वारसमेत निर्माण भइसकेका छन् । बसपार्कको रनवे कालोपत्र र केही फिनिसिङको काम बाँकी रहेको आयोजनाका इन्जिनीयर अधिकारीले बताए । गत वर्ष विनियोजित बजेटभन्दा बढी काम भएकाले निर्माण कम्पनीलाई करिब ४० प्रतिशत भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

‘गत वर्ष बजेटभन्दा बढी काम भयो । निर्माण कम्पनीले क्रेडिटमा काम गरे,’ इन्जिनियर अधिकारीले भने, ‘यस वर्ष बजेट विनियोजन भएको छैन, बजेट आयो भने पुरानो हिसाब किताब चुक्ता गछौं ।’ उनले आगामी आर्थिक वर्ष आएको बजेटले बसपार्कको सबै काम सम्पन्न हुने दाबी गरे ।

मुस्ताङको घरपझोङ गाउँपालिका र जनहित मावि नजिकै भिरालो स्थानमा बसपार्क बनाउन सुरु गरिएको थियो । सुरुआतमा विभागबाट आएको १ करोडले भिरालो सतह कटिङ गरी ग्रेड मिलान गरिएको थियो । बसपार्कको लम्बाइ २ सय मिटर र चौडाइ १ सय मिटर छ ।

सुरुआती चरणमा बसपार्कको जमिन सम्याउने, लेबल मिलाउने लगायतको काम रोशन अमित जेभीले गरेको थियो । यसमा करिब ५० बस अटाउन सक्ने छन् । सम्झौता अवधि २ वर्ष रहेको जोमसोम बसपार्कको काम संघीयतापछि कार्यालय हेरफेर र बजेट विनियोजनमा अन्योल हुँदा केही वर्ष अलपत्र परेको थियो ।

पर्याप्त बजेट उपलब्ध नभईसानो बजेट आउँदा बसपार्क निर्माणमा ढिलाइ हुन पुगेको हो । अहिले जोमसोम बसपार्कको चारैतिर कम्पाउन्ड वाल लगाइएको छ भने बसपार्क स्थलमा ग्राभेलसमेत भइसकेको छ । बसपार्क निर्माण सम्पन्न भएपछि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।

मुस्ताङमा दिनहुँ सयौं सवारी साधन भित्रिँदा जोमसोम बजार क्षेत्रमा पार्किङको समस्या छ । राष्ट्रिय गौरवको जोमसोम कोरला सडककै छेउ पूर्वतर्फ बसपार्क निर्माण गरिएको भए पनि विगत ६ वर्षसम्ममा पनि बसपार्क निर्माण पूरा नहुँदा जोमसोम बजार क्षेत्र अव्यवस्थित र भद्दा देखिएको छ । जसका कारण दुर्घटनाको सम्भावना र पर्यटक तथा सवारी साधनलाई सहज आवतजावतमा समेत समस्या छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया