म्याद सकिँदा १० प्रतिशत काम

सुन्दरकुमार थकाली २०७९ पुष १ गते ११:३९

जोमसोम ।
मुस्ताङको थासाङ २ कोवाङ–सौरु जोड्ने कालिगण्डकी नदीमा निर्माणाधीन पुलको काममा चरम ढिलासुस्ती देखिएको छ । ठेक्का सम्झौता अवधि सकिँदा जम्मा १० प्रतिशतमात्र भौतिक प्रगति देखिएको हो ।

२०७७ वैशाखमा ३० महिनामा सम्पन्न गर्ने गरी पुलको ठेक्का सम्झौता गरिएको भए पनि लामो समयदेखि निर्माण कम्पनीका ठेकेदारको वेवास्ताका कारण पुलको भौतिक प्रगति हुन नसकेको हो ।

सस्पेन्सन ब्रिज कार्यालयले कोवाङ सौरु जोड्ने पुल त्यस बेला ठेक्का लगाएको थियो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमको अवस्थामा कोवाङ सौरु जोड्ने पुलको ठेक्का सम्झौता भएको थियो ।

Advertisement

कोवाङ–सौरु पुलको म्याद सकिँदा बल्ल १० प्रतिशत काम भएको छ । भर्खरै निर्माण कम्पनीका प्रतिनिधि बाँकी काम गर्न आएका छन् ।

पुल इलाइट रुविना जेभी कन्ट्रक्सनले ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । कोवाङ सौरु जोड्ने सस्पेन्सन पुलका लागि कालिगण्डकी नदीको बीचमा दुई वटा करिब ६ मिटर गहिरा फाउन्डेसन निर्माण हुनेछन् ।

Advertisement

पुलको वारिपारी फाउन्डेसन स्टक्चर निर्माण हुने छन् । दुई वटा कम्पनीले पुलको ठेक्का सम्झौता गरेपनि रुविना जेभीका प्रतिनिधि जयदेव थापाले पुल बनाउने जिम्मा लिएका थिए । तर, थापाले पुल विभिन्न बहाना बनाएर कामअघि बढाएनन् ।

पुलको सम्झौता अवधि केही महिना अघि सकिएकोमा अहिले सार्वजनिक खरिद नियमावली ऐनको १२ औं संशोधन अनुसार २०८० सम्म म्याद थपिएको छ । थपिएको म्यादमा समेत रुविनाका प्रतिनिधि थापाले काम गर्न अग्रसरता नदेखाउँदा कोवाङ सौरु पुल निर्माणको काम अन्योल बनेको हो ।

हालै सस्पेन्स ब्रिज डिभिजनले पुल बनाउन निर्माण कन्ट्रक्सनलाई ७ दिने अल्टिमेटम दिएसँगै इलाइटका प्रतिनिधि निकेश श्रेष्ठ पुलको काम अघि बढाउन बिहीबारदेखि निर्माण स्थलमा फर्किएका छन् । उनले पार्टनर कम्पनीले अलपत्र छोडेप नि अब इलाइट कम्पनीबाट आफूले पुलको काम सम्पन्न गर्ने जानकारी दिए ।

‘पुलको काममा धेरै ढिलो भयो, अब तीव्रताका साथ काम गर्ने गरी आएको छु,’ श्रेष्ठले भने, ‘मौसमले साथ दिएमा ६ महिनाभित्र पुलको काम सम्पन्न गर्नेछु ।’ उनले कोवाङ–सौरु जोड्ने संस्पेन्स पुलको काम गर्न २५/३० जना कार्यस्थलमा खटाईसकेको जानकारी दिए ।

पुलका लागि चाहिने आवश्यक उपकरण मुस्ताङमै रहेको र केही ढुवानी गरी निर्माणस्थलमा पु¥याइएको उनले उल्लेख गरे । उनले कोवाङ–सौरु पुलको कामलाई रफ्तारमा अघि बढाउने प्रतिवद्धता जनाए ।

यसअघि कोवाङ सौरु जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र रहँदा स्थानीयमा आक्रोश बढेको थियो । थासाङ २ का वडाध्यक्ष गौतम शेरचनले विकास, निर्माणको कामलाई अन्योलमा राख्न नहुने बताए । उनले पुल निर्माणको काम धेरै ढिलो भइसकेको र फेरि पुन निर्माण कन्ट्रक्सनले जनतालाई छारो हाल्ने काम गर्न नहुने उल्लेख गरे ।

संस्पेन्स ब्रिज डिभिजनले पुलको काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने र ठेक्का सम्झौता तोड्ने चेतावनी दिए पनि निर्माण कम्पनीको अटेरीले पुलको काममा भौतिक प्रगति हुन नसकेको सौरुका स्थानीय सोजन हिराचनले बताए । कालिगण्डकी नदीमा निर्माणाधीन थासाङको कोवाङ सौरु जोड्ने पुल नबन्दा स्थानीय सास्ती व्यवहोर्न बाध्य छन् ।

सो स्थानमा पुल नहुँदा सौरु र सिर्खुम गाउँका १ सय २० घरधुरीले बर्खायामको मौसममा बेनी जोमसोम मुख्य राजमार्ग र वडा कार्यालयसम्म पुग्न समस्या छ । यस्तै, सौरु र सिर्खुम गाउँमा उत्पादित कृषि उपज सामग्री मुख्य सडकसम्म ल्याउन गाह्रो पर्ने गरेको छ ।

हिउँद याममा कालिगण्डकी नदीको बहाव कम हुँदा १५ मिनेटमा मुख्य सडक आवतजावत गर्न सकिनेमा बर्खायाम पुल नहुँदा मुख्य सडक र वडा कार्यालय पुग्न २ घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । सो स्थानमा पुल बनेमा सौरु र सिर्खुमबासीले बाह्रै महिना मुख्य सडक र पालिकासम्म सेवा लिन १५ मिनेटमा पुग्न सक्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया