उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा

समाधान संवाददाता २०७९ पुष ४ गते १३:२२

पोखरा ।
नेपाल एसोसिएसन अफ टुर एण्न्ड ट्राभल एजन्टस (नाट्टा) को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा, व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा आएको हो ।

कार्यक्रम अन्र्तगत पहिलो दिन शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीबीच फेलोसिप नाइट भएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उद्यमी फेलोसिप नाइटमा नेपालको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले कसरी टेवा पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका थियौं,’ उनले भने । नाट्टा गण्डकीले छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले बताए ।

Advertisement

पर्यटन क्षेत्रमा टेवा पुर्‍याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीसहित नाट्टाका सातै प्रदेशका प्रतिनिधि चितवन पुगेको नाट्टा गण्डकी महासचिव संगिता पौडेलले बताइन् ।

शुक्रबार र शनिबार भएको कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताइन् ।

Advertisement

दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले बताए । आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण र उद्यमीहरुबीच फेलोसिप गरेको उनले जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीबीच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमी भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए ।

‘हामी उद्यमी कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामीबीच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सराहनीय छ ।’

तपाईको प्रतिक्रिया