६ लेन, ६ महिना, १४ मृत्यु

रिखिराम जिसी २०७९ पुष ५ गते १०:१८

पोखरा ।
ग २ च २६८४ नम्बरको बोलेरो जीप शुक्रबार अनियन्त्रित भई सडक दायाँतर्फको विद्युतको पोलमा ठोक्कियो । पर्वतबाट पोखरा आउँदै गरेको जीप मध्यपहाडी लोकमार्ग अन्तर्गत हेमजास्थित हनुमानचोकमा पोलमा ठोक्किँदा एकजना यात्रुको मृत्यु भयो भने एकजना घाइते भए ।

तनहुँकी ३७ वर्षीया वसन्ती मगरलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरे । जीपका अर्का यात्रु म्याग्दीका ४७ वर्षीय गजेन्द्र पुन घाइते भए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गत असोज ४ गते सोही सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने एकजना घाइते भए । नौडाँडाबाट पोखरा आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा तनहुँको व्यास नगरपालिकाका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको थियो । स्कुटरको पछाडि सवार राईकी १५ वर्षीया छोरी सोनी राई घाइते भएकी थिइन् ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गएको जेठयता मात्रै यो खण्डमा ११ सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

हेमजाको फेदी घट्टेखोलादेखि याम्दीसम्मको सडक खण्ड ६ लेनको छ । ६ लेन सडकखण्डबाटै मनमोहक हिमशृंखला देखिन्छ । जसले गर्दा यो सडक केही समय अगाडि सामाजिक सञ्जालमा भाइरल भएको थियो । फराकिलो र सिधा सडकमा चालकले तीव्र गतिमा गाडी कुदाउँछन् । जसले गर्दा उक्त सडकमा दुर्घटना र मानवीय क्षति भइरहेको छ ।

Advertisement

पछिल्लो ६ महिनामा यो खण्डमा ११ सवारी दुर्घटना भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गएको जेठयता मात्रै यो खण्डमा भएका ११ सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । ६ जना घाइते भएका छन् ।

हेमजा सडक खण्डमा सवारी दुर्घटना संख्यात्मक रुपमा अन्तभन्दा बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक (सिनियर सई) शिवप्रसाद पाठकले बताए । ‘यो सडकमा पहिलेभन्दा कम दुर्घटना भएको हामीले महसुस गरेका छौं । तर, पूर्ण रुपमा नियन्त्रण गर्न सकेका छैनौं,’ उनले भने ।

यस क्षेत्रमा हुने अधिकांश दुर्घटनाको कारण तीब्र गति नै हो । सिधा र फराकिलो सडक, सवारी गति अत्याधिक धेरै हुँदा अधिकांश दुर्घटना भएको पाइन्छ । ‘ओभर स्पिड’का कारण सो खण्डमा सवारी दुर्घटना हुने गरेको वरिष्ठ नायब निरीक्षक पाठकले सुनाए ।

‘सडक त हामी बनायौं तर सडकको प्रयोग गर्न जानेनौं, त्यहाँ कति कसरी चलाउने भन्ने थाहा भएन,’ उनले भने, ‘बाटो भेटाएपछि बटारिहाल्ने, कुदाइहाल्ने भएर दुर्घटना बढी भएको हो ।’

यो सडक खण्डमा प्रतिघन्टा १ सय ३५ किलोमिटरको गतिमा गाडी हुइँकिने गरेको सिनियर सई पाठकले सुनाए । ‘सडकमा गति तोकिएको छैन, सहरी इलाकामा ४० भन्दामाथि जान पाइँँदैन । तर राजमार्गको हिसाबमा त ६० किमिप्रति घन्टासम्म हामीले चेकिङ गर्दा कारबाही गर्दैनौं, त्योभन्दा माथि भयो भने कारबाही गर्छाैं उनले भने, ‘हामीले जाँच गर्दा १ सय ३५ सम्मको गतिमा कुदेको भेटाएका पनि छौं ।’

दुर्घटना रोक्न ट्राफिक प्रहरी कार्यालय कास्कीले विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । कार्यालयले रात्रिकालीन मापसे चेकिङ, चालकसँग १ मिनेट कार्यक्रम, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । उक्त कार्यक्रमले पछिल्लो समय दुर्घटना संख्यात्मक रुपमा कम भएका कार्यालयको दाबी छ ।

रात्रिकालीन चेकिङले दुर्घटना कम गराएको वरिष्ठ नायब निरीक्षक पाठकले दाबी गरे । ‘रात्रिकालीन मापसे (मादक पदार्थ सेवन) चेकिङ गरेका छौं । जसले गर्दा संख्यात्मक रुपमा रात्रिकालीन दुर्घटना घटेका छन्,’ उनले भने ।

दुर्घटना रोक्न चेकिङ र जनचेतना कार्यक्रम बढाएको पाठकले सुनाए । ‘चेकिङ बढाएका छौं, जनचेतनामूलक कार्यक्रम पनि नियमित गरेका छौं । फेदीमै चालकसँग १ मिनेट कार्यक्रम सञ्चालन गरेका छौं,’ उनले भने, ‘पहिले भन्दा कम दुर्घटना भएको हामीले महसुस गरेका छौं तर पूर्ण रुपमा नियन्त्रण गर्न सकेका छैनौं ।’

राष्ट्रिय यातायात नीति २०५८ मा मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको थियो । उक्त सडक पहाडी जिल्लाहरुलाई जोड्दै नयाँ सहरको विकास गर्ने परिकल्पनासहित पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा मध्यपहाडी लोकमार्गको योजना अगाडि बढाइएको थियो ।

पाँचथरको चियोभन्ज्याङ भन्ने ठाउँबाटदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो हुने उल्लेख छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया