१८ औं महोत्सवमा १८ कविका कविता

समाधान संवाददाता २०७९ पुष ५ गते ११:३१

लेखनाथ ।
पुस ७ गतेदेखि सुरु हुने १८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा १८ कविले १८ कवितावाचन गरेका छन् । कवि शिरोमणी लेखनाथ पौडेलको सम्मानमा शिरोमणिद्वारा रचित १८ कविता १८ कविले वाचन गरेका हुन् ।

साहित्यकार सरुभक्त श्रेष्ठले कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको बताए । पौड्यालकोसम्मानका लागि यही क्षेत्रका व्यक्तित्वहरु लाग्नुपर्ने सरुभक्तले बताए ।

कार्यक्रममा कवि ऋषिकेश बरालले ऋतुविचार, तारानाथ पराजुलीले पूर्वस्मृति, डा. इश्वरमणि अधिकारीले चरीको बिलाप, जीवनसागर भण्डारीले गौथलीको चिरिबीरी, अमृता पोख्रेलले कालमहिमा, नवराज अधिकारीले पिँजडाको सुगा, नारायणी अधिकारीले तरुण तपसी, अम्बिकाप्रसाद भट्टराईले हिमाल, छन्दिका त्रिपाठीले आमाको सम्झना र सागर केसीले नैतीक दृष्टान्त कविता सुनाए ।

Advertisement

पद्मराज ढकालले बुद्धि विनोद, नारायणप्रसाद पोख्रेलले मेरो किशोर, निर्मल सोतीले साहित्यको फुटबल, डा. जगन्नाथ रेग्मीले कलमसित, शिव संकल्पले सत्य सन्देश, विकेश गिरीले कुन्जबर्तिनी बिप्रलब्धा, शिव त्रिपाठीले वसन्त कोकिल र माधवशरण उपाध्यायले भानु अस्ताए कविता वाचन गरे ।

महोत्सवका संयोजक छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक कार्यक्रम उपसमिति सहसंयोजक सञ्जीव पौडेल, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराई, साहित्यिक कार्यक्रम उपसमिति सदस्य मदन घिमिरे र संयोजक कृष्णप्रसाद ढुंगानाले बोलेका थिए ।

Advertisement

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागि आयोजकले निशुल्क स्टलको व्यवस्था गरेको छ ।

महोत्सवमा रेस्टुरेन्ट, हस्तकला, कृषि, अटो, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधी र उद्योगका स्टल रहने प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए ।

१० करोड कारोबार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी र ८५ लाख खर्च भई १० लाख बचत हुने अपेक्षा छ । बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गर्ने संघको योजना छ ।

तपाईको प्रतिक्रिया