कवि केबी नाम्जालीको सम्झना

समाधान संवाददाता २०७९ पुष ५ गते ११:३५

पोखरा ।
मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको ५६ औं जन्मजयन्ती शनिबार पोखरामा मनाइएको छ । मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कवि केबी नाम्जालीले लेखेका कविता आज पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

कवि नाम्जालीको अल्पायुमै भएको निधनले भाषा र साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कुलपति ढकालले नाम्जालीको कवित्व साँच्चिकै उत्कृष्ट रहेको उल्लेख गरे । मगर भाषा प्रतिष्ठानसँग पोखरा प्रज्ञा–प्रतिष्ठान सहकार्य गर्न तयार रहेको भन्दै उनले सबै वाङ्मयिक संघ, संस्थासँग मिलेरअघि बढ्ने बताए ।

नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा बचाउन मगर भाषा प्रतिष्ठान जस्ता संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार राखे । नेपाल मगर महिला संघकी केन्द्रीय उपाध्यक्ष फूलकुमारी थापामगरले मगर भाषा बचाउन नयाँ पुस्तामा जागरण आवश्यक रहेको बताइन् ।

Advertisement

महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगरले मगर भाषाको उत्थान र विकासका लागि महानगरको ध्यानाकर्षण गराउने जनाइन् । पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर मगर भाषाको विकासका लागि आवश्यक स्थानीय कानुन निर्माणका लागि आफूले सक्दो पहल गर्ने उल्लेख गरिन् ।

मगर भाषा प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ, कास्की अध्यक्ष सरिता सारूमगर, कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक क्या. नरेश थापामगर, सचिव रूद्रबहादुर श्रीसमगर, कार्यसमिति सदस्य कुमार थापामगरले पनि बोलेका थिए ।

Advertisement

सो अवसरमा कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषदाता शशि थापामगर, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगर र पोखरा महानगरपालिका वडा नं. २७ की जनप्रतिनिधि बुद्धिमाया थापामगरलाई सम्मान गरिएको थियो ।

शनिबार नै भएको मगर भाषा प्रतिष्ठान, कास्की शाखाको पाँचौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा यामबहादुर थापामगर, उपाध्यक्षमा रूद्रबहादुर श्रीसमगर, सचिवमा मीना थापामगर र कोषाध्यक्षमा ईश्वरी थापामगर निर्वाचित बने । सदस्यमा कुमार थापामगर, इन्दिरा थापामगर र टोलमाया थापामगर निर्वाचित भए ।

तपाईको प्रतिक्रिया