एकल साँझमा गौरी

समाधान संवाददाता २०७९ पुष ११ गते ११:०९

पोखरा ।
पाँच दशकभन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील ६५ वर्षीय नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ (गौरी)को शनिबार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ भएको छ ।

नेपाली लोक सँस्कृति बचाऔं भन्ने नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझ भएको हो ।

८ वटा नृत्य प्रस्तुत गरेका गौरीलाई हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिएका थिए भने परिवारका कलाकारको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भरेका थिए ।

Advertisement

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताए । गौरी अझै आफूहरुले विद्यार्थीकालदेखि नै नृत्य निर्देशक, कलाकार गोरे गुरुङको नामबाट चिन्दै आएको भन्दै उनले नृत्य क्षेत्रमा योगदानको प्रसंशा गरे ।

कलाकारिता संस्कृतिसँग समृद्धिको आधार भएकाले आगामी दिनमा महानगरपालिकाले पर्यटकीय सहर पोखरामा कला प्रवद्र्धनका लागि विशेष योजना बनाउने बताए । आगामी २ वर्षमा प्रदर्शनी केन्द्र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको मेयर आचार्यले सुनाए ।

Advertisement

यसरी नै पोखरामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने अन्तिम तयारीको जुटेको रिठेपानी डाँडा कटान गरिएको र फोहोर मैला व्यवस्थापनका लागि वडा नम्बर ३२ मा प्रबन्ध गरिएको बताए ।

एकल साझँकै क्रममा गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट सम्मान र लिटिल स्टेप माविले विगत २ दशकदेखि विद्यालयमा नृत्य निर्देशक भई योगदान दिएको भन्दै सम्मान गरेको थियो ।

एकल साँझ समापनको क्रममा गौरी गुरुङले सहयोगी, शुभेच्छुकलाई धन्यवाद दिँदै जीन्दगी नै नृत्य क्षेत्रमा क्रियाशील रहिरहने क्रममा आफुलाई दर्शकहरुमा आत्मैदेखि सम्मान गरेको अनुभूति भएको भन्दै आभार व्यक्त गर्नुभयो ।

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक गजबहादुर गुरुङ, उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डबिन गुरुङले बोलेका थिए ।

तपाईको प्रतिक्रिया