‘अक्षर अक्षरमा देश’लाई पुरस्कार

समाधान संवाददाता २०७९ पुष २० गते ११:१३

पोखरा ।
नेपाली लेखक संघ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार २०७८ साहित्यकार दीपक समीपद्वारा लिखित मुक्तक सङ्ग्रह ‘अक्षर अक्षरमा देश’लाई प्रदान गरिने भएको छ ।

डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले २०७८ सालमा गण्डकी प्रदेशभित्रका लेखकबाट प्रकाशित कृतिमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरेको हो ।

नेपाली लेखक संघ कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सहसचिव प्राञ्जलले जानकारी दिए ।

Advertisement

४० को दशकको उत्तरार्धबाट नेपाली साहित्य साधनामा निरन्तर क्रियाशील समीपको यो दोस्रो प्रकाशित कृति हो । यसअगाडि उनको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह २०६२ सालमा प्रकाशित भएको थियो । उक्त कृतिले पनि सुदूर पश्चिमाञ्चल गजल मञ्चले प्रदान गर्ने गजल साधना सम्मान २०६३ पाएको थियो ।

यसबाहेक विभिन्न पत्रपत्रिकामा उनका रचना पचासको दशकबाटै निरन्तर प्रकाशित हुँदै आएका छन् ।
विशेषगरी गीत, गजल, मुक्तक, कविता र आख्यान लेखनमा सक्रिय उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्षसमेत हुन् ।

Advertisement

२०७८ सालमा प्रकाशित कृति संकलन गरी कात्तिक २७ गते बसेको कार्यसमिति बैठकले उत्कृष्ट ७ कृति छनोट गरी अन्तिम निर्णयका लागि पुरस्कार छनोट समितिसमक्ष सिफारिस गरेको थियो ।

पुरस्कार छनोट समितिले कृतिहरूको विस्तृत अध्ययन गरी मंसिर २९ गते बसेको बैठकबाट समीपको कृतिलाई पुरस्कारका लागि छनोट गर्ने निर्णय गरिएको थियो । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिका सदस्यमा डा. भूमिराज बस्ताकोटी, ईशा शाह, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ थिए ।

गणेश शर्माको अध्यक्षतामा रहेको कार्यसमितिले २०७५ सालमा स्थापना गरेको सो पुरस्कारको राशि २५ हजार छ । यस पुरस्कारबाट हालसम्म सरोज अर्यालद्वारा लिखित उपन्यास ‘दिव्याञ्जलि’ (२०७५) र डा. मतिप्रसाद ढकालद्वारा लिखित कृति ‘महाभारतमा के छ ?’ (२०७७) पुरस्कृत भइसकेका छन् ।

२०७६ सालको पुरस्कार भने कोभिड १९ का कारण प्रदान गर्न नसकिएको संस्थाका अध्यक्ष सञ्जीव पौडेलले जानकारी दिए । आगामी माघ महिनामा आयोजना गरिने विशेष समारोहमा सो पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया