मुस्ताङको पर्यटकीय स्थल जोमसोम र कागबेनी बजार संरक्षण गर्न डिपिआर

समाधान संवाददाता २०७९ पुष २२ गते १८:२३

२२/ पुस

जोमसोम– हिमाली जिल्ला मुस्ताङको जोमसोम र कागबेनी वस्ती जोगाउन डिपिआर सर्वे भईरहेको छ ।वस्ती संरक्षणका लागि उर्जा जलश्रोत तथा सिँचाई विभागले ‘जोमसोम कागबेनी बजार प्रोटेक्सन रिभर ट्रेनिङ वर्क’ नामक बिस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) तयार गर्न पुस ७ गतेदेखि सर्वे अध्ययन सुरु गरिएको हो ।
मुस्ताङ सदरमुकाम जोमसोम बजार र प्रसिद्ध श्राद्ध स्थल कागबेनी बजारको सुरक्षाका लागि बृहत कालिगण्डकी नदी नियन्त्रण परियोजनाको डिपिआर अध्ययन सुरु गरिएको हो ।जोमसोम विमान स्थलको दक्षिण कालिगण्डकी झुलुङे पुल देखि जोमसोम पक्की पुलसम्मको करिव ३ किमी दुरी र कागबेनी बजार सुरक्षाका लागि करिव १ किमी दुरीमा नदी नियन्त्रणका लागि डिपिआर सर्वे भईरहेको छ ।
जोमसोम र कागबेनी बजार प्रोटेक्सन रिभर ट्रेनिङ वर्क परियोजनाको डिपिआर सर्वेका लागि उर्जा जलश्रोत तथा सिँचाई विभागले थ्रेस होल्ड ईन्जिनीयरिङ सोलुसन प्रालिसंग सम्झौता गरेको हो । थ्रेस होल्डले परियोजनाको डिपिआर तयार गर्न ४ लाख ७४ हजार लागतमा ठेक्का सम्झौता गरेको प्रालिका प्रोजेक्ट मेनेजर एवं डिजाईनर सुदिप थापाले जानकारी दिए । डिपिआरका लागि कार्तिक ७ गते सम्झौता भई २०७९ पुस २२ गतेसम्म सम्झौता अवधि तोकिएको उनले बताए । ‘केही दिनमा सर्वे सकिन्छ,त्यसपछि डिपिआर र लागत स्टमेट तयार गरी विभागलाई हस्तान्तरण गरिने छ,उनले भने ।’

मुस्ताङको जोमसोम र कागबेनी बजार सुरक्षार्थ हवाई ड्रोन र स्थलमार्गमा डिपिआर सर्वे अध्ययन भईरहेको ईन्जिनीयर नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार जोमसोम र कागबेनीमा प्रालि अन्तर्गत दुई टोलीले सर्वे अध्ययन गरेको हो ।
वस्ती सुरक्षाका लागि भईरहेको सर्वेमा बस्ती नभएको तटीयक्षेत्रबाहेक अन्य स्थानमा डिपिआर मोडालिटी तयार गरिने ईन्जिनीयर भण्डारीको भनाई छ । सर्वे गर्दा भौगालिक अध्ययन गरेर आवश्यकता औचित्यताका आधारमा आरसीसी वाल र ग्याबिन वालको खाका तयार हुनेछ । बजारक्षेत्रमा पर्ने वस्ती जोगाउन अधिकाँश स्थानमा आरसीसी वालको बढी संम्भावना रहेको ईन्जिनीयर भण्डारीको भनाई छ ।
जोमसोम र कागबेनी बजार सुरक्षाको लागि डिपिआर फाईनल भएर हस्तान्तरण भएपछि मन्त्रालयबाट बजेट विनियोजन भई ठेक्का प्रक्रियामा जाने बताईएको छ ।
यसअघि मुस्ताङको जोमसोम बजार स्थित कालिगण्डकी पक्की पुलदेखि उत्तर सशस्त्र प्रहरी क्याम्पसम्मको दुरीमा दाँयाबाँया प्रोटेक्सन वाल निर्माण गरिएको थियो । संघीय सरकार अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजित ९ करोड ४२ लाख लागतबाट झन्डै १ हजार ९९० मिटर दुरीमा आरसीसी वाल र ग्याविन वाल निर्माण गरिएको थियो ।
यसैगरी नेपाल नागरिक उड्यन प्राधिकरणले गतवर्षदेखि जोमसोम विमानस्थल सुरक्षाका लागि कालिगण्डकी नदी नियन्त्रण गर्न आरसीसी वाल र ग्याविन वाल लगाउने काम अन्तिम चरणमा पू¥याएको छ ।प्राधिकरणले जोमसोम विमानस्थलको नजिक कालिगण्डकी नदीमा करिव १ सय मिटर क्षेत्रमा ७ दशमलव २० सेमी अग्लो आरसीसी वाल निर्माण गरेको छ । अहिले कालिगण्डकी नदीको आरसीसी वालमा माटो फिलिङ गर्ने र अन्य स्टक्चर निर्माणको काम भईरहेको जनाईएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया