जनयुद्ध कमिसारदेखि सभामुखसम्म

सञ्जय रानाभाट २०७९ माघ १ गते ११:१५

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन् । धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार बेलुका शपथ गराएका छन् । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारी उपस्थित थिए ।

धिताललाई स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पनि मत दिएका छन् । उनी ३२ संसदको मतसहित सभामुखमा निर्वाचित भएका हुन् । बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रामगरले सो प्रस्तावलाई समर्थन गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरे । धितालको विपक्षमा २६ मत परेको थियो । मत विभाजन प्रक्रियाबाट उनी चुनिएका हुन् । नेपाली कांग्रेसले सरस्वती अर्याललाई सभामुखमा अघि सारेको थियो ।

Advertisement

पहिला दर्ता भएको धितालको प्रस्तावमा आवश्यक मत जुटेकाले अर्यालको उम्मेदवारीको प्रस्ताव प्रदेशसभामा पेश नै भएन ।

कृषि तथा पशुपालनको अध्ययन र अनुभव बटुलेका धिताल मन्त्री बन्न चाहन्थे तर माओवादीले उनलाई सभामुख बनाएको छ

Advertisement

गोरखा क्षेत्र नम्बर १ (१) बाट गण्डकी प्रदेश सभामा निर्वाचित भएका धिताल माओवादी जनयुद्धमा सक्रिय भएर लागेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा धिताल १५ हजार ४ सय ५६ मतसहित विजयी भएका हुन् । धितालले निकटतम् प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र थापालाई हराएका थिए । थापाले ९ हजार ८ सय २२ मत पाएका थिए ।

२०१८ सालमा गोरखाको भीमसेन गाउँपालिकामा जन्मेका धिताल सानै उमेरदेखि पञ्चायत विरुद्ध लड्दै १० वर्षे जनयुद्धमा भूमिगत थिए । विद्यार्थी राजनीतिमा सक्रिय धितालले भेटेरिनरीमा आइएससी उत्तीर्ण गरेका छन् ।
जनयुद्ध सुरु गर्नुअघि २०४९ मा कर्मचारी आन्दोलनको नेतृत्व गरेका धिताल शालीन र भद्र छविले चिनिन्छन् ।

सशस्त्र जनयुद्धपछि दोस्रो संविधान सभा सदस्य भएर काम गरिसकेका धिताल पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका हुन् । ०७० मा समानुपातिक सांसद भएका धिताललाई यस पटक गण्डकीको सभामुख बनेका हुन् । सभामुख निर्वाचित भएपछि उनले प्रदेशको समृद्धिका लागि आफू दत्तचित भएर लाग्ने उनले सुनाए ।

‘देश समृद्धिका लागि सबै दललाई मिलाएर लैजाने भूमिकामा छु । त्यो भूमिका सहजै पूरा गर्छु भन्ने छ । भर्खर निर्वाचित भएको छु । यस विषयमा थप बुझेर मैले गर्नुपर्ने काम इमान्दार भएर निभाउँछु,’ सभामुखमा निर्वाचित भएपछि शनिबार प्रदेश सभामा पत्रकारसँग धितालले भने ।

धिताल यसअघि नै माओवादीमा कास्की, लमजुङ र गोरखा इन्चार्ज भइसकेका छन् । यस पटक उनलाई सभामुख बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि साथ रहेको माओवादी वृत्तमा चर्चा छ । कृषि तथा पशु विज्ञान क्षेत्रको आफ्नो अध्ययन र अनुभव बटुलेका धिताल कृषिलाई आधुनिकिकरण गर्ने योजना गर्ने उद्देश्यका साथ मन्त्री बन्न चाहन्थे ।

सानैदेखि कृषि र पशुपालनमा रुचि राख्ने धिताल माओवादीबाट मन्त्री बन्न चाहे पनि अन्तिम समयमा सभामुख बन्न सहमत भएका हुन् । उनले आफूले पदका लागि राजनीतिक नगरेको भन्दै पार्टीको निर्णय नै अन्तिम भएको भन्दै सभामुख बन्न तयार भएको सुनाए ।

उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग तालमेल गरेर अगाडि बढ्ने योजना सुनाए । कृषि, पर्यटन, पूर्वाधार विकासलाई जोड दिँदै जनताको आवश्यकतालाई ध्यान दिएर काम गर्ने उनको अठोट छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया