मुक्तिक्षेत्रका ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट

सुन्दरकुमार थकाली २०७९ माघ २ गते १४:१४

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ५ वटै वडाका ज्येष्ठ नागरिकलाई राहत स्वरुप फाइबरवाला न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेको छ । हिउँद यामको मौसममा सम्भावित हिमपात र चिसो थेग्न पालिका अन्तर्गतका ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

हिमपात र अत्यधिक चिसोले बालबालिका तथा ज्येष्ठ नागरिकलाई निकै सास्ती हुने गर्छ । वारागुङले ज्येष्ठ नागरिकको सम्मान गर्दै उनीहरुलाई चिसोबाट जोगाउँन पालिकाले ३ सय ४७ जनालाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।

सरकारमार्फत सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकलाई पालिकाले वार्षिक बजेटमा विनियोजन गरिएको ५ लाख रकमले न्यानो कपडा (ब्ल्याङकेट) खरिद गरी वितरण गरिएको उनले बताए ।

Advertisement

वारागुङ मुक्तिक्षेत्रको ५ वडामा रहेका ६० वर्षभन्दा माथिका दलित ज्येष्ठ नागरिक र ६८ वर्ष भन्दा माथि नाघेका अन्य समुदायका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरिएको हो । हिउँद यामको जाडो थेग्न पालिकाले प्रति लाभग्राही १ ब्ल्याङकेट वितरण गरेको हो ।

पालिकाले टेन्डरमार्फत ब्ल्याङकेट खरिद गरी ५ वटै वडामा हस्तान्तरण गरेको अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए । उनका अनुसार ५ वडाका वडाध्यक्ष तथा सदस्यको रोहबरमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा(ब्ल्याङकेट) वितरण गरिएको छ ।

Advertisement

पालिकाले घरदैलोमै पुगेर जाडो थेग्न ब्ल्याकेट वितरण गरेपछि त्यहाँका ज्येष्ठ नागरिक खुसी भएको वारागुङका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । आर्थिक अभावले ब्ल्याकेट किन्न नसकेका र पैसा भएर पनि ब्ल्याकेट किन्न नपाएका ज्येष्ठ नागरिकलाई पालिकाले वितरण गरेको ब्ल्याकेटले ठूलो राहत पुर्‍याएको स्वास्थ्य संयोजक बोहराको भनाइ छ ।

यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पनि जाडो छल्न बेसी नझरी गाउँमा बसेका ५ सय ५० घरधुरीलाई ज्याकेट वितरण गरेको थियो । लोमान्थाङ गापाले विपद् व्यवस्थापन कोषबाट १० लाख विनियोजन गरी १० लाख मुल्य बराबरको ज्याकेट वितरण गरेको थियो ।

मुस्ताङमा चालु वर्ष हिमपात नभए पनि चिसो भने अत्यधिक छ । उत्तरी हावाको चिसो सिरेटोले बालबालिका तथा ज्येष्ठ नागरिक बढी मात्रामा प्रभावित हुने गर्छन् । चिसोका कारण मुस्ताङमा घरका धारा, सेफ्टी ट्याङकी, कुलो, नदी र तालहरु जम्न थालेका छन् ।

उपल्लो मुस्ताङमा बिहान र बेलुकीपख तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १० डिग्रीमा झर्ने गरेको छ । अत्यधिक चिसोका कारण मुस्ताङका ७० प्रतिशत स्थानीय जाडो छल्न बेसी झरिसकेका छन् । चिसोका कारण पर्यटकीय रौनक शून्य हुँदा मुस्ताङ अहिले सुनसान छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया