चिसो र हिमपातको डरले राहरन्न मुस्ताङ

सुन्दरकुमार थकाली २०७९ माघ ४ गते ११:०९

जोमसोम ।
चिसो बढेसँगै मुस्ताङका होटल तथा रेस्टुरेन्ट सुनसान बनेका छन् । अनुकुल मौसममा गुल्जार हुने मुस्ताङ हिउँद याम लागेपछि भने सुनसान बन्छ । मंसिरको अन्तिमदेखि फागुन अन्तिमसम्म मुस्ताङमा चिसोले जनजीवन प्रभावित हुने गर्छ ।

सम्भावित हिमपात र चिसोले पुस र माघ महिनामा पर्यटकीय गतिविधि ठप्पै बन्छन् । बर्खा यामभरी दुःख गर्ने र हिउँद याम लागेपछि होटल पूरै बन्द गरेर वा कुरुवा राखेर यहाँका पर्यटन व्यवसायी बेसीका विभिन्न स्थानमा घुमफिर गर्न पुग्छन् ।

चिसो मौसम सुरु भएपछि पुस महिनामा आशिंक पर्यटक मुस्ताङ भित्रिएकोमा माघ लागेपछि पर्यटकको संख्या एकदमै न्यून रहेको घाँसा प्रहरी चौकीका इन्चार्ज मनबहादुर कार्कीले जानकारी दिए । पुस महिनामा दैनिक ६० जति जिपकार, ६०/७० मोटरसाइकल र १०/१५ वटा बस भित्रिने गरेकोमा अहिले त्यसमा करिब ७० प्रतिशत कमी भएको छ ।

Advertisement

जिल्ला बाहिरबाट पर्यटक आउन छोडेपछि मुस्ताङ सदरमुकाम जोमसोमका होटल सुनसान बनेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । ‘मुस्ताङमा चिसो बढेको छ, वातावरण पनि सुनसान र उराठलाग्दो छ,’ अध्यक्ष तुलाचनले भने, ‘जाडो समयको पुस र माघ महिना अफ सिजन पनि हो, यो पर्यटक आउने समय पनि होइन ।’

चिसो मौसमका कारण मुस्ताङको लेतेदेखि उपल्लो मुस्ताङका कतिपय होटल सुनसान छन् भने कतिपय बन्द छन् । एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीका अनुसार सिजनको समयमा दैनिक सयौं विदेशी मुस्ताङ आउने गरेको भए पनि यतिबेला चिसोका कारण दैनिक १०/१५ जनामात्र विदेशी आउने गरेका छन् । उनले फागुनको दोस्रो सातापछि क्रमशः मुस्ताङमा पर्यटकीय चहलपहल हुने उल्लेख गरे ।

Advertisement

‘अहिले मुस्ताङमा चिसो छ, हिमपात पनि हुन सक्छ,’ उनले भने, ‘अन्नपूर्ण सर्किटमा पनि पूरै हिउँ छ, उपल्लो मुस्ताङ पनि जाने सकिँदैन ।’ गर्मी याममा बर्सेनि मुस्ताङका होटल भरिभराउ हुने भए पनि चिसोयाममा खाली हुने एक्यापका कार्यालय प्रमुख सुवेदी बताउँछन् ।

जिल्ला बाहिरबाट पर्यटक आउन छोडेपछि बेनी जोमसोम कोरला सडकमा सवारी साधन आउजाउ एकदमै कम रहेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए । मुस्ताङको लेतेदेखि लोमान्थाङसम्म साना ठूला गरी २ सयभन्दा बढी होटल सञ्चालनमा छन् ।

हिउँद याममा पर्यटकलाई लेक लाग्ने र चिसोले निमोनिया हुने प्रबल जोखिम रहन्छ । यस कारण पनि चिसोयाममा पर्यटक मुस्ताङ आउन चाहदैनन् । चिसोले गर्दा धार्मिक स्थल मुक्तिनाथ मन्दिरसमेत सुनसान छ । गर्मी याममा तीर्थालुले भरिभराउ हुने मुक्तिनाथ मन्दिरमा पर्यटक नआउँदा सुनसान बनेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।

मुस्ताङको पर्यटन व्यवसाय चिसोले ठप्पै बने पनि यहाँका किसानलाई स्याउ बगैचा व्यवस्थापनमा व्यस्त छन् । चिसोकै कारण यहाँका सामुदायिक विद्यालय २ महिनाका लागि बन्द भएका छन् भने सरकारी कार्यालयसमेत सेवाग्राही नहुँदा सुनसान छन् ।

मुस्ताङमा चालु वर्षको पुस महिना बितिसक्दासमेत हिउँ परेको छैन । विगतमा कार्तिकमै हिउँ पर्ने गरेकोमा यस वर्ष हिउँ पर्ने छेकछन्दसमेत नभएको स्थानीय कृषक अजित थकालीले बताए । किसानका लागि हिउँ पर्नुपर्ने उनले उल्लेख गरे ।

हिउँद यामको चिसो मौसममा उत्तरी हावाहुरी चल्ने, चिसोले घरका धारा, सेफ्टी ट्याङकी, कुवा, कुलो र शाखा नदी जम्ने हुँदा स्थानीयको दैनिकी कष्टप्रद हुने गर्छ । अहिले उपल्लो मुस्ताङका अधिकांश मानिस चिसो छल्न बेसी झरिसकेकाले पूरै गाउँ सुनसान छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस २० र तल्लो मुस्ताङमा माइनस १० डिग्रीमा झर्ने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया