टाइगर कप: आर्मी र एपिएफ विजयी

समाधान संवाददाता २०७९ माघ १० गते १०:५८

पोखरा ।
तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हासिल गरेको हो ।

एपिएफले पुरुष र महिलातर्फ दुवैतर्फ जित हासिल गर्‍यो । एपिएफ पुरुषतर्फ नेपाल पुलिस क्लबलाई ३–१ ले विजयी हुँदा महिलातर्फ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

Advertisement

आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंका विरुद्ध पहिलो सेट २५–२० दोस्रो सेट २५–१६ र तेस्रो सेटमा २५–१० ले जित्यो । यो आर्मीको पहिलो जित हो । उसले ३ अंक प्राप्त गरेको छ ।

उक्त खेलमा आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दि म्याच र बेस्ट स्पाइकर धनबहादुर भट्ट घोषित भए । अर्को खेलमा एपिएफले पुलिसविरुद्ध जित निकाल्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

Advertisement

पुलिसविरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफ दोस्रो सेटमा भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो । तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै एपिएफले खेल आफ्नो पक्षमा पार्‍यो ।

उक्त खेलमा बेस्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा बने ।

महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–११ ले जितेको एपिएफले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । उक्त खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई समान ५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई २ लाख ५० हजार, तेस्रो हुने टिमलाई १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परीक्षण कुपन प्रदान गर्ने गरिएको छ ।

महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त गर्ने छन् भने हरेक विद्याका उत्कृष्ट प्रशिक्षकलाई १० हजार र ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया