३ करोड थपिएपछि अलपत्र पुलकाे धमाधम काम

सुन्दरकुमार थकाली २०७९ माघ १० गते ११:२३

जोमसोम ।
४ वर्षसम्म अलपत्र मुस्ताङको थासाङ गाउँपालिका ३ र ४ वडा जोड्ने लेते छयो स्पेन्सन पुलको काम अहिले द्रुत गतिमा भइरहेको छ । हिउँद यामको चिसो मौसममा समेत लेते–छयो सस्पेन्सन पुलको काम चलिरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

२०७४ फागुनमा साविक जिविसले यो पुलको ठेक्का सम्झौता गरेको थियो । कालिगण्डकी नदीमा निर्माणाधीन लेते–छयो मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवा काठमाडौंले लिएको छ । कालिगण्डकी वारिपारि गरी १ सय मिटर लम्बाई र ७ दशमलव २ मिटर चौडाइ रहेको सस्पेन्सन पुलको लागत ११ करोड ३० लाख थियो ।

सुरुवाती ठेक्का सम्झौता हुँदा पुल निर्माणको काम १८ महिनामा सकिनुपर्ने थियो । तर, थासाङ गाउँपालिका ३ र ५ जोड्ने लेते—कुञ्जो सस्पेन्सन मोटरेबल तत्कालीन समयमा प्राविधिकले गरेको डिजाइन फेल भएको भन्दै ४ वर्षसम्म पुल निर्माण अन्योल बनेको थियो । २०७५ को भदौ महिनामा कालिगण्डकी नदीको बाढीले पुलको फाउन्डेसन बिममा क्षति पुर्‍याएपछि पुलको संरचना जोखिममा परेको थियो ।

Advertisement

४ वर्षसम्म अलपत्र रहेको थासाङका वडा नं. ३ र ४ जोड्ने लेते छयो पुलको काम माघको माइनस डिग्री तापक्रममा पनि रोकिएको छैन

नदीको कटानले पुलको बिममा क्षति पुर्‍याउँदा निर्माणाधीन पुलको १५ प्रतिशत भौतिक प्रगति थियो । त्यसपछि पुल निर्माणको काम रोकिएको थियो । निर्माण कम्पनीले पुलको दायाँ—बायाँ २ टावर फाउन्डेसन ढलानको आशिंक काम गरेको थियो ।

Advertisement

संघीय सरकार अन्तर्गत साविक जिल्ला विकास समितिले निर्माण सुरु गरेको लेते—कुञ्जो पुलको संरचनामा कालिगण्डकी नदी कटानले क्षति पुग्ने देखिएपछि पुल निर्माणको विभिन्न विकल्प खोजिएको थियो । निर्माणाधीन रहँदा भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ भदौमा उक्त पुल निर्माणको अख्तियारी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यलयलाई दिएको थियो ।

सन् २०१९ मा पुल हेर्ने स्विजरल्यान्डका प्रतिनिधि र पुल डिजाइन इन्जिनीयर राजन मानन्धरसहितको ४ सदस्यीय टोलीले मुस्ताङको लेते—कुज्जो सस्पेन्सन मोटरबल पुलको स्थलगत अनुमगन गरेको थियो । उनीहरुले पुलक अध्ययन गरी लोकल रोड ब्रिज प्रोग्रामलाई प्रतिवेदन बुझाएका थिए । टोलीको प्रतिवेदनपछि पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई पुलको काम रोक्न लगाएको थियो ।

सार्वजनिक खरिद नियमावली अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ साल चैतसम्म म्याद कायम थियो । लोकल रोड ब्रिज प्रोग्रामको पत्रअनुसार सन् २०२१ मार्चबाट रिसिभ डिजाइन र रिसिभ स्टमेटको आधारमा निर्माण व्यवसायीलाई भेरियसन पेश गर्न लगाइएको थियो ।

पुलको म्याद थप गरिए पनि कोरोना कहरका कारण निर्माणको काम अघि बढ्न सकेन । अर्थ मन्त्रालयले २०७७ असार ३ गतेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले दोस्रो पटक २०७८ भदौ १३ गतेसम्मको म्याद तोकेको थियो ।

पुलको संरचना दीर्घकालीन बनाउन निर्माण कम्पनीले पेस गरेको भेरियनस भिओ गण्डकी प्रदेशको मन्त्रिपरिषदले हालै अनुमोदन गरेको छ । पुलको फाउन्डेन बिम जोगाउन प्रोटेक्सन वाल निर्माण लगायतका कार्य गर्न प्रदेश मन्त्रिपरिषदले साविकको सम्झौतामा २४.८१ प्रतिशत वृद्धि हुने गरी भिओ स्वीकृत गरेको थियो ।

पुलको भिओको लागि १५ प्रतिशत भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र ९ दशलव ८१ प्रतिशत प्रदेश क्याबिनेटले स्वीकृत गर्ने गरी भिओ अनुमोदन गरिएको हो । भिओ स्वीकृतिसँगै पुलको लागतभन्दा २ करोड ८१ लाख भिओ वृद्धि गरिएको थियो । सो पुलको पछिल्लो लागत १४ करोड १९ लाख १५ हजार छ । पुलको पूर्वतर्फ नदी नियन्त्रण प्रोटेक्सन वाल लगाइनेछ ।

लामो समयदेखि काम रोकिएको यो पुलको काम चिसो मौसमका बाबजुद भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देलले जानकारी दिए । ‘प्राविधिक र विभिन्न कारणले लामो समयदेखि लेते–छयो पुलको काम अवरुद्ध थियो,’ कार्यालय प्रमुख सिग्देलले भने, ‘पुलको भिओ स्वीकृत भएकाले निर्माण कम्पनी आफैं खटिएर काम गरिरहेको छ ।’ पुलको संरचना दीगो बनाउन नदीको तटीय क्षेत्रमा प्रोटेक्सन वाल लगाउन रिभर ट्रेनिङ वर्कको काम भइरहेको छ ।

पुलको दायाँ र बायाँतर्फ फाउन्डेसनसहित टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको पछिल्लो सम्झौता अवधि चालु वर्षको चैत मसान्तसम्म रहे पनि अर्को आर्थिक वर्षको असोजसम्म पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको थासाङ ३ र ५ जाड्ने मोटरेबल नहुँदा छयो, ताक्लुङ, कुञ्जो, झिप्रा देउराली र टिटी गाउँका स्थानीयले उत्पादन गरेको कृषि उपज सामाग्री बजारीकण गर्न निकै अप्ठ्यारो छ । सो क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छ । पुल बनेपछि त्यस क्षेत्रका कृषक लाभान्वित हुने गाउँपालिका उपाध्यक्ष सोमल हिराचन बताउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया