मुस्ताङमा अंग्रेजी सट मुभी सुटिङ

समाधान संवाददाता २०७९ माघ १० गते १२:२४

जोमसोम ।
मुस्ताङमा चिसो ह्वात्तै बेका बेला अमेरिकी फिल्मी टोली शुक्रबार हेलिकोप्टरमार्फत जोमसोम आइपुगेको छ । मुस्ताङको मौलिक कला, संस्कृति, प्राकृतिक सौन्दर्य र यहाँ अवस्थित गुम्बाहरुको छायांकनका लागि अमेरिकन टोली मुस्ताङ आएको हो ।

टोलीमा ५ जना अमेरिकी र १ जना फ्रान्सेली नागरिक छन् । ग्रुर्टस प्रोडक्सन कम्पनी अमेरिकाले मुस्ताङमा अंग्रेजी सट मुभी न्यु फ्रेन्ड इन नेपाल निर्माण गर्न लागेको हो ।

सट मुभीको अनुमानित लागत ६० लाख छ । यसका लागि अमेरिकी कम्पनीले काठमाडौं फिल्म कम्पनीसँग सहकार्य गरेको छ ।

Advertisement

नेपाली फिल्म कम्पनीसँग सहकार्य गरी मुस्ताङमा १५ मिनेटको सट मुभी छायांकन हुने काठमाडौं फिल्मका निर्देशक चन्दन झाले जानकारी दिए ।

यसका लागि ५ विदेशी टोलीसहित ५०/६० जना नेपाली फिल्म टेक्निसियन र केही नेपाली नयाँ कलाकार मुस्ताङ आएको निर्देशक झाले बताए । यसको सबै छायांकन १ हप्तामा सकिनेछ ।

Advertisement

विदेशी टोली हेलिकोप्टरमा आए पनि नेपाली टिम भने सडक मार्ग हुँदै मुस्ताङ आएको हो । मुभीमा ५ जना बाल कलाकार पनि छन् । फिल्मको निर्देशन अमेरिकन ग्रुर्टसले गर्नेछ भने नेपाली फिल्म कम्पनीले सट मुमीको सहजीकरण गर्नेछ ।

नेपाली कम्पनीले छायांकन, लोकसन, प्रविधि र व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं फिल्म कम्पनीका निर्देशक झाले उल्लेख गरे ।

यसको सबै छायांकन जोमसोम र कागबेनी क्षेत्रमा गरिनेछ । कागबेनी र जोमसोममा रहेका गुम्बा, स्कुल, कालिगण्डकी तटीय क्षेत्र र यहाँको मौलिकता झल्किने स्थानमा सट मुभी छायाँकन हुनेछ ।

मुभीले गुम्बा विद्यालयमा पढ्ने बालबालिका अनुशासित, भद्र र शालीन हुन्छन् भन्ने सन्देश दिने स्थापक दिनेश प्रकाश बोहराले बताए ।

तपाईको प्रतिक्रिया