किताबमा माझठानाका ‘महाजन’को जीवन संघर्ष

गीतमा माझठानाको सौन्दर्य

समाधान संवाददाता २०७९ माघ १४ गते १९:२८

पोखरा ।
विक्रम संवत १९८५ साल, कास्की माझठानाको लामिछाने गाउँमा एक शिशु जन्मिए । तर उनका बाबुले उनको र उनले बाबुको अनुहार देख्न पाएनन् । उनले धर्ती टेक्दा बाबुले संसार छाडिसकेका थिए । उनले ९ वर्षमा आमा पनि गुमाए ।


न पढ्न पाए, न अरु कुनै इलम गर्न । सानै उमेरमा संघर्षका लागि भारत लागे । भारतको मिजोराममा पुगेर संघर्ष सुरु गरे अनि सफलता प्राप्त गरे । जग्गाजमिन, घर, गाडीमात्रै जोडेनन्, व्यापार, व्यवसाय मिजोरामका सहरहरुभन्दा बाहिर र अरु भारतीय राज्यहरुसम्म फैलाए । आफ्नो व्यापार, व्यवसायमा आफन्तहरु थुप्रैलाई जोडे । रोजगारी दिए । इलमी बन्न पनि सिकाए । उनको मेहेनत र सफलताले ख्याति कमाउँदै गयो र विभिन्न उपनाम पनि पाए । अनि माझठानाका बुद्धिसागर लामिछाने ‘महाजन’ कहलिए ।


जति पैसा भारतमा कमाए पनि नेपालमै भिœयाउने उनले परिवारको शिक्षादीक्षालाई ध्यान दिए । आफूले सावाँअक्षर पनि चिन्न पाएनन् तर आफ्ना सन्तानहरुलाई मात्रै गुणस्तरीय शिक्षाको अवसरमात्रै दिलाएनन् । विभिन्न विद्यालयहरुलाई सहयोग गरे । यता नेपालमा र उतै मिजोराममा पनि विपन्न केटाकेटीलाई पढ्नका लागि सघाए ।

Advertisement

नेपालमा उनले गरेका समाजसेवाका उदाहरण अनगन्ती छन् । उनै महाजनको जीवन संघर्षलाई उनका कनिष्ठ पुत्र डा निर्मल लामिछानेले किताबमा ल्याएका छन् ।


बुद्धिसागरको जीवनी ‘माझठानाका टारीदेखि ब्रह्मपुत्रपारिसम्म’ शनिबार पोखरामा लोकार्पण भएको छ । साहित्यकार सरुभक्तले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

Advertisement


बुद्धिसागर लामिछाने स्मृति प्रतिष्ठानकी संरक्षक गगादेवी लामिछानेको अध्यक्षता भएको कार्यक्रममा मञ्जु शर्माद्वारा लिखित ‘देश डुब्ला कि भन्ने डर भो’ नामक कविता संग्रहको पनि लोकार्पण गरिएको थियो । ‘हाम्रो माझठाना, राम्रो माझठाना’ भन्ने बोलको गीत पनि त्यही अवसरमा सार्वजनिक गरियो ।


त्यस अवसरमा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ, साहित्यकार लिली अधिकारी, डा चन्द्रा भद्रा, बुद्धिसागरका छोरा प्रकाश लामिछाने, गण्डकी मेडिकल कलेजकी विद्यार्थी प्रतिभा बस्याल र जीवनी लेखक रामप्रसाद पौडेल लगायतले बोलेका थिए ।

बुद्धिसागर लामिछाने स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका अतिथि र सहभागीलाई प्रतिष्ठानका अध्यक्ष प्राडा निर्मल लामिछानेले धन्यवाद ज्ञापन गरे । प्राडा लामिछानेले आफ्ना पिताको व्यक्तिगत जीवन संघर्ष समेट्ने उद्देश्यमात्रै नभई उद्यमशीलताका लागि धेरैलाई प्रेरणा मिलोस् भनेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया