सम्पादकीय: आत्मदाहको अन्तर्य

समाधान संवाददाता २०७९ माघ १७ गते १२:००

मान्छेलाई सबैभन्दा प्रिय आफ्नो जीवन लाग्छ । यदाकदा जीवनभन्दा प्रिय अरु वस्तु पनि मानिएको देखिएको छ । इतिहासमा हामीले आत्मदाह गरेर राजनीतिक र सामाजिक कुरीतिविरुद्धमा बलिदानी दिएका घटनाहरू सुनेका छौं । आत्मघाती आक्रमणहरु भएका छन् ।

जानीजानी आफैंलाई सिध्याउने आत्महत्या र आत्मदाह पनि पछिल्लो क्रममा बढ्दै गएको छ । आइतबार पोखरामा आत्मदाहको प्रयास गर्ने एक जनाको सोमबार निधन भएको छ । केही दिनअघि इलामा प्रेमप्रसाद आचार्यले संसद भवनअघि नै आत्मदाह प्रयास गरे ।

व्यवसायीसमेत रहेका आचार्यले शरीरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । नेपाल प्रहरीले लगत्तै अस्पताल लिएर उपचार गरे पनि उनको मृत्यु भयो । व्यवसाय डुबेर बैंकको ऋणको जञ्जालमा परेपछि आफूले आत्महत्या गर्नु परेको विषय उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । अहिले उनको आत्मदाहको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।

Advertisement

आइतबारै पोखराको एक सहकारीका व्यवस्थापकले पनि आत्महत्या गरे । उनी कार्यरत सहकारीको आर्थिक अवस्था नाजुक भएको र उनको निजी आर्थिक व्यवहारसमेत सहज नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी प्रतिनिधि घटनामात्रै हुन् । पछिल्लो समय बैंकको उच्च ब्याज र सावाँ तिर्नै नसकेर दिनहुँ व्यवसायीले मृत्युवरण गर्नु परेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि संकटमा परेको अर्थतन्त्र र व्यवसाय पनि खासै नचल्दा केही व्यवसायबाटै पलायन भइरहेका छन् भने कतिपय सहन नसकेर मृत्युको बाटो रोजिरहेका छन् । अहिलेसम्म व्यवसाय संकटमै परेर कति जना व्यवसायीले मृत्युको बाटो रोज्नु पर्‍यो, यसको यकिन विवरण भने कुनै निकायसँग छैन । बैंकको ऋण तथा ब्याज र व्यवसाय संकटमै परेको कारणले आत्महत्या गरेका घटना भने आइरहन्छन् ।

Advertisement

व्यवसाय संकटमै परेको कारण आत्महत्या गर्नु गम्भीर र सोचनीय विषय हो । डेढ सय वर्षघि १९२५ मा भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले जहानियाँ राणा शासनको अत्याचारविरुद्ध आत्मदाह गरेकी थिइन् । राणा शासन र महिलामाथि भएका अन्याय अत्याचार, कुसंस्कारकाविरुद्ध योगमायाले आफ्नो टाउकोमा तेलको आगोको दियो भएको प्लेट राखेर चट्टानमा चढेर आत्महत्या गरेकी थिइन् ।

उनले आफूलाई मात्र जलाइनन्, ६८ जना अरू समर्थक महिलालाई लिएर आगो लगाउँदै अरुण नदीमा विलीन भइन् । अहिले परिवेश त्यस्तो छैन, राजनीतिक परिवर्तन भएको छ । सामाजिक रूपमा पनि निकै सुधारका काम भएका छन् । आत्महत्यालाई मानसिक समस्याको उपजमात्रै होइन ।

यो सामाजिक समस्या हो । यसका पछाडि रहेका सामाजिक, आर्थिक, पारिवारिक र मानसिक समस्यासमेतलाई अनुसन्धान गरी प्रभावकारी उपाय अवलम्बन गर्नु जरुरी छ । सरोकारवालाको सामूहिक प्रयत्नले मात्र आत्महत्या र आत्मदाहका घटना न्यूनीकरण हुन सक्छन् ।

तपाईको प्रतिक्रिया