जोमसोम–कोरला सडकलाई बजेट माग

सुन्दरकुमार थकाली २०७९ माघ १८ गते १२:५९

जोमसोम ।
राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक कालोपत्रको क्रमागत बजेटमा राख्न मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् ।

तुलाचनले सोमबार अर्थ मन्त्रीको कार्यकक्षमै पुगेर उपप्रधान तथा अर्थ मन्त्री पौडेलसमक्ष (जोमसोम–कोरला) सडकको पछिल्लो अवस्थाबारे जानकारी गराए ।

तुलाचनले जोमसोम कोरला सडकलाई क्रमागत रुपमा बजेट बिनियोजन गरी कालोपत्र बनाउने योजनालाई प्राथमिकता राख्न अनुरोध गरेका छन् ।

Advertisement

उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको सडक अन्तर्गत जोमसोम कोरलाका ७ खण्डमध्ये ६ खण्डको ग्राभेल सडक विस्तारको काम ३ वर्षअघि नै सकिएको हो ।

निर्माण कम्पनीको ढिलासुस्तीले चराङ–छोसेर २५ किमी सडक अन्तिम चरणमा रहँदा सडक निर्माणको काम अलपत्र छ ।
कोरला जोड्ने जोमसोम कागबेनी निर्माणाधी कालोपत्र सडकको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ ।

Advertisement

सो खण्ड निर्माण कम्पनीले लागतभन्दा आधा रकममा ठेक्का सम्झौता गर्दा निर्माणको काम अलपत्र परेको हो । २०८० को असोजसम्म कालोपत्र सम्पन्न गर्ने योजना रहे पनि डेढ वर्ष बितिसक्दा ७ प्रतिशतमात्र भौतिक प्रगति छ ।

जोमसोम कागबेनी १३ किमी कालोपत्र सडकका लागि २८ करोड १४ लाखमा रौटाहा आत्रेय सारस जेभीले ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम ७६ किमी सडकको पछिल्लो भौतिक प्रगति ७५ प्रतिशत छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया