थासाङको लेते कालोपानीमा दुई तले घरमा आगलागी

समाधान संवाददाता २०७९ माघ २२ गते १८:५२

जोमसोम–मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीको एक घरमा भिषण आगलागी भएको छ । आईतबार दिउँसो ४ ः४५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
आगलागी भएको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । थासाङ–३ लेत कालोपानी स्थित स्थानीय तुलाचनको ढुङ्गा र माटोले बनेको दुई तले घर पूर्ण रुपमा क्षति भएको हो । घरमा बेनी–जोमसोम सडकका कामदार बस्दै आईरहेका थिए ।
आगलागीपछि सदरमुकाम जोमसोमबाट सुरक्षा निकायको टोली घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।
आगलागी भएको घरबाट स्थानीय र सुरक्षाकर्मी लगायतको टोलीले धनमाल बाहिर निकाल्ने कार्य गरिहेको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन भने आगलागी भएको घरमा ३ घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो । घरमा धरैजसो भौतिक सम्पती नष्ट भएको छ ।
बेनी–जोमसोम मुख्य सडकको दक्षिण पूर्वमा रहेको घरमा आगलागी भएको र सडक निर्माणमा प्रयोग गरिएको ट्याङ्करले आगो नियन्त्रणमा लिने काम भईरहेको छ ।
मुस्ताङका स्थानीय तहमा आगो नियन्त्रण गर्ने वारुणयन्त्र नभएकोले आगो नियन्त्रणमा लिन अप्ठ्यारो भएको प्रहरी नायव उपरिक्षक पौडेलले उल्लेख गरे । आगलागी भएको घरको पूर्ण क्षति विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया