नेपाल पर्यटक यातायात व्यवसायीको सभा

पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले चौथो वार्षिक साधारणसभा मनाएको छ ।
हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीले पर्यटन व्यवसाय जोगाउन राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए ।
कोरोना कहर लगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवं व्यवहार आवश्यक भएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर लगायतले थप समस्यामा पारेको सुनाए ।
चर्को ब्याजदरले व्यवसायी मारमा परिरहेको बताउँदै उनले ब्याजदर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको जनाए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल पर्यटक यातायात व्यवसयी संघ गण्डकी प्रदेश अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको उल्लेख गरे ।
पुराना सवारी साधनलाई इलेक्ट्रिक मोडलमा रुपान्तरण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
एनटिभिए गण्डकीका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त वैज्ञानिक ढंगले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गरे ।
कार्यक्रममा एनटिभिए गण्डकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गादत्त दहाल, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष केदारनाथ शर्मा, विकास कँडेल, जनक कार्की लगायतले बोलेका थिए ।
साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कंडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ ।
तपाईको प्रतिक्रिया