मुस्ताङका ६ सडक अन्योलमा

सुन्दरकुमार थकाली २०७९ माघ २६ गते १०:४५

जोमसोम ।
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आइइ)प्रस्तावमा विलम्ब हुँदा मुस्ताङका ६ ग्रामीण सडक अन्योलमा परेका छन् । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा निर्माण हुने सडकहरुको (आइई) प्रस्तावमा बिलम्ब हुँदा सडक निर्माण पछि थकेलिएको हो ।

सरकारले संरक्षित क्षेत्रबाहेकका महानगर, उपमहानगर,नगर र पालिकालाई प्रारम्भिक वातावरणीय परीक्षण(आइई) र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई दिएको छ । तर, हिमाली जिल्ला मुस्ताङ राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्ने भएकाले संघीय कानुनले प्रदेश सरकारलाई यी प्रस्ताव स्वीकृत गर्ने अधिकार प्रत्यायोजन गरेको छैन ।

मुस्ताङमा सडक तथा प्राकृतिक स्रोत, साधन र नदीजन्य पदार्थ उत्खनन् गर्ने अधिकारको प्रस्ताव स्वीकृत गर्ने अधिकार संघीय कानुनको अधिनमा रहेकाले यसको अधिकार राष्ट्रिय प्रकृति संरक्षण कोष (एननिएनसी)लाई छ । यसैका लागि संघीय कानुन बमोजिम मुस्ताङका ६ सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृतका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोममा प्रस्ताव गरिएको थियो ।

Advertisement

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत बजेट विनियोजन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ खोलादेखि दामोदरकुण्ड जाने १० दशमलव २८ किमी सडक र उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, ठिङ्गर, किम्लिङ, चुम्जुङ, न्याम्डो र नेचाङ जोड्ने १० दशमलव ५७ किमी सडकको पूर्वाधार विकास कार्यालय मुस्ताङले २०७८ असार महिनामा (आइई) सहमति प्रस्ताव स्वीकृतका लागि आवश्यक कागजात अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)मा पेश गरेको थियो ।

संरक्षित क्षेत्रमा पर्ने मुस्ताङमा समयमै आइइ प्रस्ताव स्वीकृत नहुँदा बजेट नै फ्रिज हुने अवस्था आएको छ

Advertisement

प्रदेश अन्तर्गत निर्माण हुने यी दुबै सडकको आइई प्रस्ताव स्वीकृत गर्न पूर्वाधार विकास कार्यालय कागजात पेश गरेको लामो समय बितिसक्दासमेत कुनै निर्णय नहुँदा प्रदेशका २ सडक अन्योलमा परेको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिक्देल बताउँछन् । प्रस्ताव स्वीकृत नहुँदा सडकका लागि विनियोजन भएको बजेट फ्रिज हुने अवस्था छ ।

स्थानीय तहबाट निर्माण हुने वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका ४ वटा ग्रामीण सडक आइई प्रस्ताव स्वीकृत नहुँदा अन्योलमा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले झोङ तेताङ जाड्ने ७ किमी सडकको २०७९ साउनमा आइई स्वीकृतका लागि एक्यापमा प्रस्ताव पेश गराएको थियो । थासाङ गाउँपालिकाले वडा २ को खरवाङ कृषि सडकको प्रस्ताव पेश गरेको थियो ।

१ दशमलव ३९ किमी खरवाङ कृषि सडकको चालु वर्षको भदौमा कागजात पेश गरिएको थियो । थासाङकै वडा ४ र ५ जोड्ने १ दशमलव ५ किमी लामो अर्को छयो, झिप्रा देउराली सडक आइई प्रस्ताव स्वीकृत गर्न पालिकाले सोही समयमा प्रस्ताव पेश गरेको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले जानकारी दिए ।

तर, पालिकाले नै पेश गरेको ताङसार, सेकुङ ताल र भुतर्छो ताल जोड्ने ३ दशमलव ३६ किमी सडकको आइई स्वीकृतिका लागि प्रस्ताव पेश गरिएको भए पनि आवश्यक प्रक्रिया नपुगेको भन्दै प्रस्ताव एक्याप कार्यालयमै छ ।

एक्याप जोमसोमले सडक निमाणका लागि प्रदेश र स्थानीय तहले आइई सहमति गर्ने प्रस्तावहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा फाइल फरवार्ड भइसकेको जनाएको छ । एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले प्रस्तावको निर्णय केन्द्रले गर्ने भएकाले केही समय लाग्न सक्ने उल्लेख गरे ।

विगतमा वातावरणीय अध्ययन प्रतिवेदन बिनासडक निर्माण र प्राकृतिक स्रोत, साधनको दोहन हुने गरेकोमा पछिल्लो समयमा स्थानीय तह सचेत हुँदै गएको उनले बताए । गाउँ बस्ती जोड्ने सडकबाहेक अन्य सडक निर्माण गर्दा यहाँको भूगोल र पर्वतीय पर्यटनका लागि उपयुक्त नहुने तर्क कार्यालय प्रमुख सुवेदीको छ ।

केही वर्षअघि अन्नपूर्ण संरक्षित क्षेत्रमा वातावरणीय अध्ययन प्रतिवेदन बिनै सडक खन्ने परिपाटीले वातावरणीय क्षेत्रमा प्रतिकूल असर पर्नुका साथै पर्यटन पदमार्गसमेत मासिँदै जान थालेको छ । अहिले यहाँका स्थानीय तह र कार्यालयहरु वातावरणीय अध्ययन स्वीकृत गरी विकासको कामलाई अघि बढाउन अग्रसर देखिएका हुन् । राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग र उपल्लो मुस्ताङको धेरैजसो पर्यटन पदमार्ग अन्धाधुन्ध सडक निर्माणसँगै पदमार्ग मासिँदै जान थालेका हुन् ।

कुनै बेला लमजुङको बेसी सहरदेखि मनाङ, मुस्ताङ हुँदै कास्कीसम्मको पदमार्गमा यात्रा गर्न २ साताभन्दा बढी लाग्थ्यो । जसले पर्यटन व्यवसायीलाई निकै फाइदा हुन्थ्यो । अहिले सो पदमार्ग मासिदै जाँदा ३ दिनमै राउन्ड अन्नपूर्ण पदमार्ग सकिन्छ ।

उपल्लो मुस्ताङ जाने पदमार्ग मासिँदा पदयात्रा छोटिन पुगेको एक्यापले जनाएको छ । आवश्यक स्थानबाहेक जथाभावी सडक निर्माण गर्दा वातावरणी क्षेत्रमा प्रतिकूल असर पुग्ने र यसले यहाँका खनिज र जैविक विविधतामा समेत ठूलो असर पुग्ने एक्यापले जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया