रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानको तयारी गरिसक्यौं । म्याचुरिटी पिरियडका लागिमात्र कुरेका हौं । त्यो पनि पूरा भइसक्यो । विक्रम गौतम प्रमुख, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सञ्जय रानाभाट २०७९ फागुन ८ गते १०:२९

सञ्जय रानाभाट, पोखरा ।
नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी २३ बाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विमानस्थलबाट स्वतः रात्रिकालीन उडान हुने प्राधिकरणले जनाएको थियो । तर, उडान हुने दिन नजिकिँदा पनि क्यानबाट हालसम्म कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छैनन् ।

यता, प्राधिकरणबाट अन्तरिक उडानतर्फ रात्रिकालीन उडानका लागि अहिलेसम्म कुनै तालिका बनिसकेको छैन । उडान सञ्चालनका लागि सेवा, सुविधासँगै पूर्वाधार बनिसकेको भए पनि अहिलेसम्म कुनै एयरलाइन्सले अनुमति नपाएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

‘हामीले रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानको तयारी गरिसक्यौं । म्याचुरिटी पिरियडका लागिमात्र कुरेका हौं । यो पनि पूरा भइसक्यो । विमानस्थललाई चाहिने इकुप्मेन्ट, डकुमेन्ट र स्रोतहरु पूरा भइसके,’ उनले भने, ‘अब कति बजे कसले, कुन दिन उडान गर्ने भन्ने कुरा एयरलाइन्सको कोर्टमा पुगेको छ । रह्यो कुरा सेडुलको । अहिलेसम्म रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान हुने सेडुल आएको छैन ।’

Advertisement

पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) फेब्रुअरी २३ बाट लागू हुन्छ । आइएफआर प्रणाली सञ्चालनसँगै सोही दिनबाट अन्तर्राष्ट्रिय र रात्रिकालीन उडान गर्न मिल्छ । कोरियन एयर, बिज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतले अन्तर्राष्ट्रिय उडानमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय उडान नभए पनि बुद्धले आन्तरिकतर्फ साँझमा उडान गर्ने कुरा आएको छ । तर, आधिकारिक सूचना छैन,’ प्रमुख गौतम भन्छन्, ‘फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्छ । तर, यहाँबाट पनि उडान हुने जानकारी आएको छैन ।’

Advertisement

माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि पोखराबाट जोमसोम, भरतपुर, नेपालगन्ज लगायतका ठाउँमा नियमित उडान भएको छैन । अरु ठाउँमा भने आन्तरिक उडान भइरहेको छ । आजभोलि आन्तरिक उडानमा पनि यात्रुको चाप कम छ । विमानस्थल सञ्चालनमा आएको १३–१४ दिनसम्म यात्रु खचाखच रहे पनि अहिले यात्रु संख्या नपुग्दा फ्लाइट खुम्चिएका छन् ।

‘विमानस्थललाई अरु समस्या छैन । अन्तर्राष्ट्रिय उडानका योग्य भइसक्यौं । सबै प्यारामिटर पूरा भइसके । अब यसका लागि प्यासेन्जर कार्गोको कुरा हो । चासो त लिएका छन् । आशा गरौं, उडान छिट्टै हुन्छन्,’ प्रमुख गौतमले भने । गौतमले विमानस्थल राम्रो बनाएर तयारी पूरा गरे पनि राम्रो प्रमोसन गर्न नसकिएको स्वीकारे ।

विश्वसामु लिए जाँदा बिजनेससँगै सुविधान दिनुपर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय उडान गर्न एआइपी गरिसकेका छौं । उहाँहरूले बुझ्दै हुनुहुन्छ होला । कस्तो पार्किङ छ, कति रनवे छन्, कति वटा ट्याक्सी वे छन्, टर्मिनल सुविधा कति छ ? त्यो हेरेपछि उडान गर्ने/नगर्ने उहाँहरूको हातमा छ,’ गौतमले भने ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानमा जानेमा मुख्यतः वैदेशिक रोजगारीमा रहनेहरू, धार्मिक, सांस्कृतिक पर्यटक पर्छन् । तर, उडान भर्ने भनिएका जजिरा, फ्लाइ दुबइ, कतार एयरवेज र बुद्ध एयरले अनुमति पाइसकेका छैनन् । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा बनारस पोखरा, पोखरा दिल्ली पोखरा र पोखरा देहरादुन पोखरामा उडान गर्ने योजना बनाएको थियो । तर, अनुमति पाइसकेको छैन ।

पोखराका उद्यमी, व्यवसायीले भारततर्फ नभए चीनतर्फ पहिलो अन्तर्राष्ट्रिय उडान गराउन माग गरेका छन् । तर, चीनबाट पनि अनुमति आइसकेको छैन । नागरिक उड्डन प्राधिकरणका अनुसार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै वायु सेवाले आइएफआर प्रणाली अन्तर्गत अनिवार्य उडान गर्नुपर्नेछ । आइएफआर उडान भर्ने अनुमति फेब्रुअरी २३ बाटमात्र लागु हुन्छ ।

विमानस्थलबाट उडान संख्या घट्नु र अन्तर्राष्ट्रिय उडानसमेत अनिश्चित हुँदा चर्को ऋणको ब्याज र किस्ता नउठ्ने भन्दै आलोचनासमेत हुने गरेको छ । चिनियाँ एक्जिम बैंकबाट २२ अर्ब रुपैयाँ ब्याजमा लिएर यो विमानस्थल निर्माण गरिएको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया