म्याग्दी किनारमा मंगला इन्द्रेणी पार्क

राकेश शर्मा २०७९ फागुन ९ गते ११:०१

म्याग्दी ।
म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ । तीव्र रुपमा बजारीकरण भइरहेको बाबियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी पार्क बनाइएको छ । गाउँपालिकाको १ करोड, गण्डकी प्रदेश सामाजिक विकास कायालयको संग्रहालय निर्माणमा १६ लाख र ज्येष्ठ नागरिक विश्राम स्थलका लागि ७ लाख र डिभिजन वन कार्यालयको १८ लाख लागतमा पार्क बनेको हो ।

पार्कका लागि बाबियाचौर निवासी समाजसेवी ईन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । पार्क गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र जग्गादाता अधिकारीले उद्घाटन गरे । म्याग्दी नदी किनारमा बनाइएको उद्यान, नजिकै म्याग्दी जिल्लामा पाइने विभिन्न सामग्री सहितको म्युजयमसमेत यसै आर्थिक वर्षभित्र सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष रोकाले बताए । उद्यान परिसरमा रहेको भवनमा सांस्कृतिक संग्रहालय बनाउन गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभूषा झल्कने सामग्री संकलन गरेर राखिने भएको छ ।

करिब डेढ करोड लगानीमा म्याग्दी नदी किनारमा संग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयसहितको पार्क

Advertisement

आर्थिक वर्ष २०७५/०७६ मा सुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिक रुपमा खुला गरिएको छ । पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समय सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ ।

पार्कका विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्री संरक्षणका लागि संग्राहलयसमेत स्थापना गरिएको छ । पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी १५ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । थप ५ आना जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले १ लाख र मंगला युवा क्लबले २ लाख आर्थिक सहयोग गरेका थिए ।

Advertisement

पार्क उद्घाटनको अवसरमा जग्गादाता र सहयोगदातालाई सम्मान गरिएको छ । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात पार्कमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मंगला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरियो ।

आफू जन्मे, हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि निःशुल्क जग्गा दिएको ईन्द्रबहादुर अधिकारी बताउँछन् । पार्क निर्माण गर्न डिभिजन वन कार्यालयले १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्राहलय भवन बनाउन १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि ७ लाख बजेट खर्च भएको छ ।

पार्कको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्राहलय भवनलाई पूर्णता दिन गाउँपालिकाले ६० लाखभन्दा बढी लगानी गरेको छ । पार्कलाई निःशुल्क जग्गा दिने ईन्द्रबहादुरको सम्मानमा पार्क परिसरमा उनको अर्धकदको सालिक बनाइएको छ भने संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ राखिएको छ । म्याग्दी नदी किनारमा निर्माण भएको पार्कले स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको दिने अपेक्षा गरिएको छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया