लमजुङमा अलैंचीबाट २० करोड आम्दानी

राष्ट्रिय समाचार समिति (रासस) २०७९ फागुन १४ गते १७:१३

लमजुङ ।
अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यस वर्ष जिल्लामा ३ सय ८० मेट्रिक टन अलैँची बिक्री भएको छ ।

२०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा ५ सय ५० देखि ७ सयसम्ममा र गत वर्ष ९ सय ५० देखि १ हजार ५ सय बढी मूल्यमा बिक्री गरेका थिए ।

यसअघि उनीहरूले सबैभन्दा बढी विसं २०७७ मा ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले ३ सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए ।

Advertisement

विसं २०७६ मा जिल्लामा २ हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । विसं २०७५ मा ७ सय ५० क्विन्टल बिक्रीबाट कृषकले ५ करोड २५ लाख आम्दानी गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका ५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको सुनाए ।

Advertisement

१० रोपनीमा लगाएको अलैँची खेतीबाट यस वर्ष ७ क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ । उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको बताए । गत वर्ष ३ क्विन्टल ८० किलो बिक्रीबाट झण्डै ४ लाख उनले आम्दानी गरेका थिए ।

आशबहादुर भन्छन्, ‘विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो २ हजारमा समेत बिक्री गरेको थिएँ ।’ सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् ।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष १ सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेरमात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरूलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।’

मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो २ हजार २ सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए ।

तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

जिल्लामा १ हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि ५ सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा ७ सय मिटरदेखि १ हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र १ हजार २ सयदेखि १ हजार ६ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि २ हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची लगाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया