रहेनन् प्रगतिवादी समालोचक रविलाल

समाधान संवाददाता २०७९ फागुन १६ गते २१:०५

पोखरा ।

नेपाली भाषाका प्राध्यापक तथा साहित्यकार प्राडा रविलाल अधिकारीको निधन भएको छ । मंगलबार आफ्नै निवासमा ७७ वर्षीय अधिकारी मृत भेटिएका हुन् । अधिकारी २००२ साल असार १७ गते शनिबार कास्कीको मिजुरेमा जन्मिएका थिए । पोखरा १० बुद्धचोक बस्दै आएका उनी पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयका विभाग प्रमुख भएका थिए ।

पछिल्लो समय अवकाश जीवन बिताउँदै आएका रविलाल सामाजिक संघसंस्थामा आबद्ध थिए । अधिकारीले विसं २०५५ सालमा ‘प्रगतिवादी नेपाली समालोचनाको विश्लेषणात्मक अध्ययन’ शीर्षकमा विद्यावारिधि समेत गरेका थिए । अधिकारीका कविता संगालो बुकी फूल, पौराणिक लघुकाव्य एकलव्य, कवितात्मक चिठीको सँगालो परदेशीलाई पत्र, शोककाव्य आँसुको अँजुली र ऐतिहासिक लघुकाव्य हर्के प्रकाशित छन् । त्यसबाहेक दर्जनभन्दा बढी समालोचनात्मक कृति पनि छन् ।

Advertisement

अधिकारी युद्धप्रसाद मिश्र स्मृति, रत्न श्रेष्ठ पुरस्कार, शुक्ला साहित्य पुरस्कार, गण्डकी साहित्य पुरस्कार, सहिद दशरथ चन्द स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघलगायत विभिन्न साहित्य संघसंस्थामा आबद्ध रविलालको निधनले पोखरा शोकमा रहेको मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया