सम्पादकीय: मिलीजुली सरकार, दिगोपनको समस्या

समाधान संवाददाता २०७९ फागुन १७ गते १२:००

नेकपा (एमाले)सहितको गठबन्धनबाट अलग भएर नेकपा (एकिकृत माओवादी)ले राष्ट्रपतिको उम्मेदवारी दर्तामा नेपाली कांग्रेसका पक्षमा उभिने निर्णय लिएपछि अर्को नयाँ गठबन्धन बनेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी सहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा एक ठाउँमा देखिएका छन् ।

प्रचण्ड प्रधानमन्त्री बनेको दुई महिनामै प्रमुख सत्ता साझेदार दल नेकपा एमाले पनि सरकारबाट बाहिरिएपछि अब सरकारमा माओवादी बाहेक सीके राउत नेतृत्वको जनमत पार्टी मात्रै बाँकी छ । गत १० पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन अगुवाइ गरेको नेकपा एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)समर्थन फिर्ता लिएर सत्ता वाहिरिएको अवस्था छ ।

त्यति वेलाको गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पनि २२ माघमै सरकारबाट बाहिरिसकेको छ, उसले समर्थन भने फिर्ता लिएको छैन । राष्ट्रपति निर्वाचनमा एक ठाउँमा भएका आठ वटै राजनीतिक दललाई सरकारमा सहभागी गराउने पक्षमा प्रधानमन्त्री ‘प्रचण्ड’ छन् । गत ४ मंसिरको चुनावबाट उदाएका नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टी जुन गठबन्धन बने पनि सत्तासँगै निकट देखिएसँगै हालको लागि नयाँ गठबन्धन मजबुत देखिएको छ ।

Advertisement

आम चुनावबाट उदाएका नयाँ दलमा पनि सत्ता मोह पुराना दलभन्दा कम छैन । उनीहरुमा सत्ता मोह नै यती बढी देखियो, उनीहरु पुराना पार्टीभन्दा फरक पनि रहेनन् । ती दल जता सत्ता समीकरण बलियो देखिन्छ, उतैतिर निकटता बढाएका छन् ।
गत १० पुसको बिहानसम्ममा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएपछि चुनावअघिको गठबन्धन भत्कियो ।

बालकोटमा पुगेर प्रचण्डले एमालेसँग सरकार निर्माणका लागि सम्झौता गरे । त्यसमा रास्वपा, जनमत र नागरिक उन्मुक्ति पनि मिसिए । गत १३ फागुनमा राष्ट्रपति निर्वाचनका लागि बनेको ८ दलीय गठबन्धनमा जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । नयाँ समीकरण बनेसँगै संसदकाे सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी आगामी फागुन २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचन अघि या पछि सरकारमा सामेल हुने छन् ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन अघि नै संसद्मा विश्वासको मत लिने र त्यस लगत्तै कांग्रेस लगायतका दलहरूको सुविधाजन वहुमतको सरकार बन्नेछ । नेपालको सन्दर्भमा सत्ता गठबन्धनकै भर नभएको अनुभव छ । त्यसमाथि धेरै दल मिलेर सरकार बनाउँदा अल्पमतमा पर्ने सम्भावना रहिरहन्छ । नेपालमा मिलीजुली सरकारसम्बन्धी संस्कार बसेको देखिँदैन ।

गठबन्धनभित्र मतभेद भए अस्थिरताको खतरा सधैँ रहन्छ । जुनसुकै बेला सरकार ढल्न सक्ने अवस्थाले अर्को मिलीजुली सरकार बन्ने अवस्था आउँछ । अहिले त्यस्तै भएको छ । अहिले नयाँ बन्ने सरकार फेरी पनि सानो कुरामा चित्त नबुझ्ने बित्तिकै ढाल्ने वा अस्थिरता निम्तिने अवस्था आउँन बेर लाग्ने छैन ।

तपाईको प्रतिक्रिया