हवाई सेवाबाट अपेक्षा

समाधान संवाददाता २०७९ फागुन १९ गते १२:००

गण्डकी प्रदेशको राजधानी पोखराबाट कोशी प्रदेशको झापा भद्रपुरसम्म हवाई सेवा विस्तार गर्न लागिएको छ । निजी हवाई कम्पनी बुद्ध एयरले पर्यटकीय नगरी पोखरा र भारतको सिमानामा रहेको भद्रपुरलाई आगामी मार्च ९ देखि हवाई मार्गबाट जोड्न लागेको हो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटी बढाउनेदेखि क्षेत्रीय स्तरमा हुने उडानलाई बढाइएको छ । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालिन परीक्षण उडान गरेसँगै बुद्ध एयरका ४ जहाज आगामी मार्च ९ देखि नै रात्रिकालीन समयमा उडानको तयारीमा छन् ।

अहिलेसम्म पोखरा–भद्रपुर सिधा उडान थिएन । पोखरा आउने यात्रु सडक यात्रामा निर्भर थिए । हवाई सेवा विस्तारले पूर्वी नेपालका आन्तरिक पर्यटकदेखि भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउन पुग्ने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा जिल्ला तथा अन्तर प्रदेशबीच भएको हवाई सेवा विस्तारले पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने छ ।

Advertisement

पर्यटकहरूले छिटो र आरामदायी यात्रामा रुचि राख्ने हुँदा जति एयर कनेक्टिभिटी बढाउन सकिन्छ, त्यति नै पर्यटकको चहलपहल पनि बढ्दै जान्छ । हवाई सेवापाएसँगै पोखरा आउन स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने छन् । अन्तर प्रदेशबीच हवाई सेवा विस्तारको क्रममा पोखरा र मदेश प्रदेशको बाराको सिमरा सिधा हवाई उडान सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको पहलमा पोखराबाट लुम्बिनी प्रदेशको भैरहवा र नेपालगञ्ज, वागमती प्रदेशको भरतपुर, कोशी प्रदेशको विराटनगरलाई जोड्ने उद्देश्यका साथ नियमित उडान भएका छन् । पोखरालाई विभिन्न प्रदेशसँग हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालिएको छ । पर्यटन पुनरुत्थान कार्यक्रम अन्तर्गत हवाई सम्पर्क कायम गरिएका हो ।

Advertisement

पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशले पोखरालाई प्रदेशको राजधानी घोषणाको लागि संघीय सरकारलाई सिफारिस गर्नेदेखि पर्यटन प्रवद्र्धनका गतिविधि भएका छन् । पर्यटन प्रवद्र्धन तथा भारतको सिमा क्षेत्रका तराईका शहरी क्षेत्रबाट गण्डकी प्रदेशसँग हवाई सम्पर्क सञ्चालन तथा विस्तारको काम भएका छन् ।

पर्यटन क्षेत्रमा भौतिक पूर्वाधारको काम गर्ने सरकारको दायित्व हो । अहिलेसम्म सडकको अवस्था नाजुक भएकोले सरकारी निकायले सडक पूर्वाधारमा ध्यान दिन पर्छ । सरकारी निकाय, पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनका काम गर्नु पर्छ ।

वागमती र लुम्बिनी प्रदेश लगायत सबै प्रदेशबाट पोखरा आउने सडक सञ्जाल व्यवस्थित नभएको परिप्रेक्ष्यमा आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई बढवा दिन हवाइ सेवा विस्तार हुनु सकारात्मक छ । हवाई उडानलाई दिगो र भरपर्दो बनाउन सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।

तपाईको प्रतिक्रिया