मुस्ताङमा तोरन्लको रौनक

सुन्दरकुमार थकाली २०७९ फागुन २३ गते १०:३७

जोमसोम ।
थकाली समुदायको महान पर्व तोरन्लसोमबारदेखि मुस्ताङका बिभिन्न स्थानमा सुरू भएको छ । हिउँद यामपछि वसन्त ऋतुको आगमनसँगै सुरू हुने तोरन्ल थकाली समुदायको मुख्य पर्व हो । देश विदेशमा छरिएका थकाली युवायुवती पर्व मान्न यस बेला जन्मथलो फर्कन्छन् ।

पर्वले थकाली समुदायलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याएको छ । तारो हान्ने, कौडा खेल्ने, पितृ चढाउने, नाँचगान गर्ने, मीठो खाने र राम्रो लगाउने थकालीको तोरन्ल पर्वको मुख्य विशेषता हो । मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्म र पोखरा, काठमाडौं, वुटवल, भैरहवा लगायतका स्थानमा बसोबास गरेका थकाली समुदायले तोरन्ल पर्व धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार हर्षोल्लासका साथ मनाउने चलन छ ।

तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो । थकाली समुदायका मानिसले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी चढाउने र मीठा मीठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन् । पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट ३ दिनसम्म मध्य रातमा उठेर पितृको नाममा प्रसाद चढाउने प्रचलन छ ।

Advertisement

यसरी पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने र पितृको उद्दार हुने विश्वास गरिन्छ । तोरन्ल पूर्णिमाको अघिल्लो दिनमा तारा थाप्ने थकाली भाषामा (धसा चुह) गरिन्छ । तारा थाप्दा थकाली परम्परा अनुसार पूजाआजा गरिन्छ । यसरी पूजा गर्दा तारो खेल्दा कुनै अनिष्ठ नहोस् भन्ने कामना गरिएको हो । धसाको प्रारम्भिक पूजा गरेपछि मात्र तारो हान्ने खेल सुरुआत गरिन्छ ।

महिलाले भने कौडा खेलेर रमाइलो गर्ने चलन छ । मुस्ताङको जोमसोममा तोरन्लकै अवसरमा सोमबारदेखि आर्चरी अर्थात तारा हान्ने खेल सुरु भएको छ । तारा खेल सञ्चालन हुनुपूर्व गाउँ मुखिया निवासमा जोमसोमका स्थानीय थकाली समुदायका मानिस भेला भएका थिए ।

Advertisement

त्यहाँबाट बाजा बजाउँदै र थकाली गीत गाएर तारो हान्ने धसालाई तारो हान्ने स्थानमा पुर्‍याएर गाडिएको छ । तर, जोमसोममा थकालीकै पर्व भएता पनि अन्य समुदायसमेत यो सांस्कृतिक पर्वका सहभागी हुने गरेका छन् । गाउँका अगुवा मुखियाको साथमा तारा धसोलाई बाजागाजा राखिएको तारा धसोसहित तारा स्थलमा पुर्‍याइएको थियो ।

जोमसोममा तारो खेलको गाउँ मुखियाले धसो पूजाआजा तथा तारोको तिर हान्दै सुरुआत गरे । जोमसोममा १५ दिनसम्म तारो हान्ने खेल सञ्चालन गरिन्छ । मिश्रित थकाली बस्ती भएकाले यसको फरक रौनक छ । पूर्व गाउँ मुखिया एवं नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले तोरनल्ह पर्व थकालीको महान पर्व भएको र यसले मौलिकता र कला, संस्कृतिलाई जीवन्त राख्न योगदान गर्ने बताए ।

वर्षभरी काम गरी वसन्त ऋतुको सन्तुलित मौसममा सबै थकान बिर्सिएर आपसमा सामिप्यता अभिवृद्धि गर्न तोरन ल्ह पर्वको महत्व भएको उनले खुलाए । धार्मिक, सांस्कृतिक, सामाजिक पहिचानका रूपमा मनाईंदै आएको यो पर्वमा पितृ पूजा गर्ने, आपसमा भेला हुने र तारो खेल्ने प्रचलन छ ।

पूर्व प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले तोरन ल्ह थकालीको मौलिक पहिचान भएको बताए । पर्वको अवसरमा थकाली समुदायले घर चिटिक्क पार्ने र भाडा वर्तनको सरसफाइ गर्ने चलनसमेत छ । मुस्ताङमा ठिनी, स्याङ, चिमाङका ३ गाउँले थकालीले तोरन ल्ह पर्व जस्तै त्युङ्ला पर्व र मार्फाली समुदायका थकालीले यस पर्वलाई तेरमी पर्वका रूपमा मनाउने गरेका गरेका छन् । तोरन ल्ह, तेरमी र त्युङ्ला पर्वका समान विशेषता भए पनि विधि भने केही फरक छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया