शितल ज्योति कपमा ४ खेल

समाधान संवाददाता २०७९ फागुन २५ गते ११:३६

पोखरा ।
पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत बुधबार आयोजना भएका खेलमा कमलपोखरी ‘बी’, रत्न सेवा समाज, भद्रकाली एफसी र मिलनटोल विजयी भएका छन् ।

पोखराको अमरसिंह चौरमा सञ्चालन भएको बुधबारको पहिलो खेलमा कमलपोखरी ‘बि’ ले वि—१३ क्लबलाई टाइब्रेकरमा २—१ गोलले हराएको छ । नियमित समयमा दुवै टोलीमा समान १ गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलको दोस्रो हाफको बि—१३ का मनिल गुरुङ र कमलपोखरीका सरोज गुरुङले गोल गरेका थिए ।

बुधबारको दोस्रो खेलमा रत्न सेवा समाजले बिटी क्लबमाथि १—० को कठिन जित निकाल्न सफल भयो । पहिलो हाफको १६ औँ मिनेटमा कुमार फगामीले गरेको गोल निर्णायक बन्यो । शितलज्योति ए र भद्रकाली एफसीबीच भएको प्रतिस्पर्धामा नियमित समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भद्रकालीले २—१ गोलले शितलज्योतिलाई पराजित गर्‍यो ।

Advertisement

मिलनटोल र शितलज्योति ब्लु बीचको चौथो खेलमा मिलन टोलका सुजन गुरुङले दोस्रो हाफको २८ औँ मिनेटमा गरेको १ मात्र गोल टोलीलाई अघिल्लो चरण प्रवेश गराउन निर्णायक बनेको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।

फागुन २० गतेदेखि सुरु भएको प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा प्रवेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउन्टेन वाइक पुरस्कार वितरण गरिनेछ ।

Advertisement

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारका साथमा ट्रफी दिइनेछ । प्रतियोगताको फाइनल खेल फागुन २७ गते हुने तय छ ।

तपाईको प्रतिक्रिया