तेरमी मनाउँदै मार्फाली

सुन्दरकुमार थकाली २०७९ फागुन २६ गते ११:०८

जोमसोम ।
मुस्ताङको मार्फामा बसोबास गर्ने थकालीको महान पर्व ‘तेरमी’ बुधबारदेखि मुस्ताङमा जारी छ । मार्फाली थकालीको यो पर्व एक सातासम्म मनाउँछन् । थकाली समुदाय अन्तर्गत थाकखोला क्षेत्रमा बसोबास गर्ने र अन्य थकाली समुदायले पनि यस प्रकारको पर्व ‘तोरन्ल‘ र ‘त्युङ्ला’ पर्व हर्षाेल्लासका साथ मनाउने गर्छन । तेरमी,तोरन्ल र त्युङ्ला पर्वको शाब्दिक अर्थ एउटै भए पनि मनाउने तरिकामा केही भिन्नता छ ।

जन्मथलो मार्फा भएका थकाली समुदायले बर्सेनि तेरमी बिशेष महत्वका साथ मनाउँदै आएका छन् । तेरको अर्थ शुभ र मीको अर्थ सम्भ, काल र क्षण भन्ने बुझिन्छ । सारमा यो पर्व समयको शुभ दिन, शुभ महिना, शुभ काल र क्षणको आगमन हुँदाको अनुकूल समयमा मार्फाली थकाली समुदायले पर्व मनाउने चलन रहेको मार्फाका स्थानीय दीपक लालचन बताउँछन् ।

तोरन्ल पर्व जस्तै मार्फाली थकाली समुदायको तेरमी वसन्त ऋतुको आगमनसँगै मनाइन्छ । यसमा पितृको सम्झनामा पितृ पूजा हुन्छ । थकाली समुदायका महिला मध्य रातमा उठेर ३ दिनसम्म पितृलाई चोखो पानी चढाउने, उनीहरुको नाममा विभिन्न खानेकुरा चढाउने गरिन्छ ।

Advertisement

यसरी पितृको पूजा गर्दा उनीहरुको उद्धार हुने, दिवंगत पितृ खुसी भई आशीर्वाद दिने जनविश्वास छ । यसो त मार्फाली समुदायले पर्व आउन केही दिनअघि बाटै घर, आँगन चिटिक्क् सिंर्गाछन् । घरका पुराना भाडा वर्तन सफा गरी सजाउँछन् ।

पर्वको अवसरमा छोरीज्वाइँ, भान्जाभान्जी र आफन्तलाई बोलाइन्छ । मीठो खाने, राम्रो लगाउने, तारा खेल्ने, सांस्कृतिक परम्परा अनुसार कर्म गर्ने गरिन्छ । फागुपूर्णिमाका दिन अर्थात् तेरमीको पहिलो दिन कोत घरमा जम्मा भएर तारो हान्ने धसालाई धार्मिक विधि अनुसार प्रतिस्थापन गरिन्छ ।

Advertisement

परापूर्वका कालमा सिकार गर्न प्रयोग गरिने तारो हान्ने (आर्चरी) खेल पछिल्लो पुस्तामा खेलको रुपमा विकास भएका छ । मार्फाली समुदायका पुरुष खेलाडीलाई गाउँको बाटोमा महिलाले थकाली भेषभूषामा सजिएर फलफूल, दूध र रक्सीले स्वागत गर्छन् ।

त्यस बेला पुरुष र महिलाले टोलीले पालैपालो तेरमीसम्बन्धी सांस्कृतिक गीत गाउँदै कोतघर पुग्छन् । यसरी दैनिक रुपमा सांस्कृतिक परम्परा अनुसार शुभारम्भ गरेपछि मार्फाली खेलाडी तारो खेल्न जुट्छन । तारो खेल्दा २ समूह बनाइन्छ । जसमध्ये १ समूहमा भाले (फो) र अर्को समूहमा पोथी (म्हो) छुट्याई समूह विभाजन गरिन्छ । महिला भने आपसमा भेला भएर कौडा खेल्छन् ।

मार्फाली समुदायले यो पर्व फागुन २९ गतेसम्म मनाएर समापन गर्ने स्थानीय लालचनले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया