‘देवु’का २ कृति एकैसाथ

समाधान संवाददाता २०७९ फागुन २८ गते ११:४०

पोखरा ।
कवि तथा गीतकार देवेन्द्र केसी ‘देवु’का पछिल्ला दुई कृति शुक्रवार एक समारोहबीच पोखरामा लोकार्पण गरियो । संगीतकार शक्ति बल्लभ, साहित्यकार सरुभक्त र लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा ती कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा संगीतकार शक्तिबल्लभले केसीका सिर्जना आफूले फेला पारेपछि संगीतका माध्यमबाटै जवाफ दिने गरेको बताए ।

पहिलो पटक म्युजिक नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा अली मियाँ र ईश्वर बल्लभसँगै रहेको स्मरण गर्दै उनले पोखरालाई साहित्यको राजधानीका रूपमा चित्रण गरे ।

Advertisement

अनेसास गण्डकी समितिको तर्फबाट संगीतकार बल्लभलाई नेपाली सुगम संगीतका क्षेत्रमा ५ दशक साधना गरी पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । सरुभक्त, हरिदेवी र कृष्णप्रसाद बास्तोलाले संयुक्तरूपमा उनलाई सम्मान गरेका हुन् ।

साहित्यकार सरुभक्तले केसीलाई लामो समयदेखि नजिकैबाट चिनेको बताउँदै समकालीन नेपाली समाजको चित्रण नै देवेन्द्रका सिर्जना र मुक्तकका विषयवस्तु भएको बताए । गायिका कोइरालाले केसीलाई व्यस्त जीवनको परिपाठ मिलाउँदै राष्ट्रसेवकसँगै साहित्यसेवकका रूपमा अगाडि बढेको सफल र असल प्रतिभाका रूपमा चिनाइन् ।

Advertisement

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आफ्ना अनुभव र अनुभूतिलाई लिपिबद्ध गराएर राज्यमा सुव्यवस्था कायम गर्न लेखन अनिवार्य भएको बताए । समीक्षक घनेन्द्र ओझाले ६/७ वर्षदेखि सिर्जनाका माध्यमबाट देवुलाई चिन्दै आएको र उनको साहित्य लेखनको पहिलो कडी इमान भएको बताए । उनले अव्यक्त पीडा भित्र केसीका उत्कृष्ट मुक्तक रेको बताए ।

स्रष्टा केसीले सधैं आफूले काठमाडौंमा मात्र कार्यक्रम गर्ने भनेर आफ्ना जन्मभूमिवासीको स्नेहले यस पटक पोखरामा कार्यक्रम आयोजना गरेको बताए । आफ्ना जागिरे तथा व्यक्तिगत जीवनका विविध अध्याय र आयामको स्मरण गर्दै समय समय भावुकसमेत भएका केसीले बाल्यकालीन दिनसमेत स्मरण गरे ।

कार्यक्रममा रामभक्त जोजिजु, कर्ण दास र नवीन कार्कीले दोषी नजर भित्रका गीत गायन, सावित्री गिरी र वसन्त विनोदले कृतिभित्रका मुक्तकवाचन गरेका थिए । समाजसेवी रमेशबहादुर भट्टराई, साइभक्त मोहन केसी लगायतले देवेन्द्रका विविध व्यक्तित्व र आयामका बारेमा आयामबारे चर्चा गरे ।

कार्यक्रमका अध्यक्ष कृष्ण बास्तोलाले हरिदेवी कोइराला एकल सांगीतिका साँझबाट स्थापना भएको संस्थाले स्रष्टा सम्मान, कृति लोकार्पण जस्ता कार्यक्रम गर्दै आएको जानकारी गराए । अनेसास उपाध्यक्ष दुर्गा न्यौपाने र महासचिव असफल गौतमले पनि कार्यक्रममा बोलेका थिए ।

तपाईको प्रतिक्रिया