मानव सेवा आश्रमको टोली मुस्ताङमा

सुन्दरकुमार थकाली २०७९ फागुन ३० गते १९:३७

जोमसोम ।
सडक आश्रित सहयोगीपेक्षी मानवमुक्त अभियान टोली मुस्ताङ आईपुगेको छ । टोलीमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, केन्द्रीय सदस्य सुमिरा लामा, कोषाध्यक्ष होमनाथ तिमिल्सिना लगायत छन् ।


गण्डकी प्रदेश सरकारले गण्डकीलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरिसकेको सन्दर्भमा मानव सेवा आश्रमको टोली त्यसको व्यवहारिक कार्यान्वयन र वस्तुगत अध्ययन गर्न पर्वत, बागलुङ, म्याग्दी हुँदै मुस्ताङ आईपुगेको हो । सडकमा कोही सहयोगपेक्षी मानव आएको अवस्थामा उनीहरुको यथाशीघ्र उद्धार, उपचार, व्यवस्थापन र राहतका लागि स्थानीय स्तरको पहलको वातावराण् बनाउन टोली मुस्ताङ आएको मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष तिमिल्सिनाले बताए ।


आश्रमले मनाङबाहेक गण्डकीका १० वटै जिल्लामा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आश्रमले १० वटै जिल्लाको सामाजिक विकास कार्यालयसँग सहकार्य गरेको छ । सामाजिक विकास कार्यालयको समन्वयमा सोमबार मानव सेवा आश्रमले मुस्ताङको जोमसोममा सहयोगपेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम गरेको हो ।

Advertisement


कार्यक्रममा सडक आश्रित मानवको उद्धार, उपचार, व्यवस्थापन र राहतमा आश्रमले गर्दै आएका कामबारे प्रस्तुतिकरण गरिएको थियो । आश्रमले नेपालका सडक पेटीमा कोही पनि नागरिक बेवारिसे र अलपत्र अवस्थामा नपर्ने वातावराण सिर्जना गरिरहेको केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउँछन् । मानव सेवा आश्रम २०६९ सालमा स्थापना भएको हो । अहिले आश्रमले नेपालका ७ प्रदेशका १९ जिल्लामा २३ वटा शाखा चलाइरहेको छ ।


सडकमा आश्रित, बेसाहारा, अशक्त, असाहाय, अनाथ, अभिभावकविहीन सडक आश्रितका लागि संरक्षण र व्यवस्थापनमा संस्थाले काम गर्दै आएको छ । संस्थाले परिवाररिक पहिचान भएकाको पुनर्मिलनसमेत गराउने गरेको छ ।

Advertisement


आश्रमले हालसम्म १ हजार ५ सयभन्दा बढी बेसाहाराको व्यवस्थापन गरिसकेको छ । संस्थालाई नेपाल सरकारले आशिंक सहयोग गरे पनि अधिकांश सहयोग नेपालका परोपकारी संघ, संस्था र व्यक्तिले दान गर्ने रकमबाट जुट्दै आएको छ । गण्डकी प्रदेशका कास्की, लमजुङ, गोरखा र बाग्लुङमा मानव सेवा आश्रमका शाखा छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया