पिएनमा चैत ५ गते स्ववियु निर्वाचन नहुने पक्का

समाधान संवाददाता २०७९ चैत ३ गते १०:३७

पोखरा ।
देशमै सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण (पिएन) क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने निश्चित भएको छ । उच्च अदालत पोखराले बिहीबार यसअघि गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चिन भएको हो ।

उच्च अदातलले क्याम्पसलाई चैत ८ गतेसम्म लिखित जवाफ दिन आदेश दिएको छ । अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालाशले तत्कालका लागि निर्वाचनसम्बन्धी काम, कारवाही अगाडि नबढाउनू भनी अदालतले फागुन २८ गते गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन् ।

Advertisement

फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्र्याी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउँदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि उम्मेदवारी दर्तासमेत हुन सकेको छैन। कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा तालाबन्दी गरेका छन् ।

Advertisement

विद्यार्थी संगठन र क्याम्पस निर्वाचन समितिबीच सहमति हुन नसक्दा ताला खुलेको छैन । यसो हुँदा उम्मेदवारी दर्ता प्रक्रियासमेत प्रभावित बनेको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले तालाबन्दी फिर्ता लिए पनि विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले तालाबन्दी कायमै राखेका छन् ।

विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाही गर्न माग राखेको छ । निर्वाचन समितिले भने चुनाव गराउन नसकिने भन्दै राजीनामा दिएको छ ।

तपाईको प्रतिक्रिया