रंगका कुशल शिल्पी

रवीन्द्र माकाजु २०७९ चैत ३ गते १२:३३

पोखराका वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) लाई धेरैले पोखराका कलाकारितामा गुरु भनेर चिन्ने गर्दछन् । पोखराका अधिकांश कलाकारद्वारा सम्मानित व्यक्तित्व हुन्ः पोखरेली नवरत्न एवं प्रसिद्ध कार्टुनिस्ट दुर्गा बराल । वि.सं. २००० सालमा पोखराको आर्वामा जन्मेका पिता हरिवंश र माता कलावतीका जेठ पुत्र दुर्गाले गाउँकै स्कुलमा ५ कक्षा पूरा गरे । ६ कक्षा पढ्न पोखरा झरे । १० कक्षासम्म पढ्दा थुप्रै चित्र कोरे, किताबमा भएका हात्ती, घोडाका चित्र हुबहु कोर्दथे । उनी सुरुका दिनमा कलाकार कृष्णप्रसाद श्रेष्ठले कोरेका राम्रा चित्र देख्दा तिन छक परे ।

२०१८ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि पृथ्वीनारायण कलेजमा भर्ना भए । कलेजमा चित्रकला प्रतियोगिता हुँदा बराल प्रथम भए । त्यस बेला साथीहरुले दुर्गालाई भने–हे दुर्गा ! तिमी यति राम्रा कलाकार छौं तसर्थ तिमी विदेशमा गएर पढ । तिमी जस्ता मान्छे फ्रान्स, इन्डिया र पाकिस्तान गएर चित्रकला पढ्नु पर्छ ।

भैरव टोलमा सिलाइ पसल खोलेर बसेका काठमाडौंका कपालीसँग २०२० सालमा दुर्गा काठमाडौं गए । घरेलु शिल्पकलाका हाकिमले काठमाडौंको घरेलु शिल्पकला भण्डारमा डिजाइनिङ तालिम लिन सिफारिस गरे । मख्खन गल्लीमा कपालीका ७ दाजुभाइ थिए । सातै बूढाबूढीको पोट्रेट बनाउँदा बनाउँदै ३ महिना बित्यो ।

Advertisement

जेठा जवाहर दलित नेता थिए । राजा महेन्द्रले मुलुकी ऐन ल्याएर छुवाछुत मेटाएको खुसीयालीमा उनले निकालेको र्‍यालीका लागि बरालले राजाको पूर्णकदको चित्र कोरिदिए । त्यसले प्रशंसा पायो । ३ महिनापछि घरेलुमा कला कक्षा लिन सुरु गरे । त्यहाँ कलाकार अमर चित्रकार र ज्ञानबहादुरले सिकाउँथे । त्यो बेला भत्ता ५० हुन्थ्यो, त्यसमा पनि कर काटिन्थ्यो ।

३५ रुपियाँले डेरा भाडा तिर्न नै धौधौ भयो । जति बेला बराल काठमाडौं बसाइँमा थिए, त्यो समयबाटै उनले कार्टुन बनाउन सुरु गरे । एक जना सम्पादकले पत्रिकाको लागि कार्टुन बनाउन अनुरोध गरे । कार्टुन बनाउन ७ वर्ष काठमाडौंमा बसे पनि बसाइँ धेरै लम्बिन सकेन । आर्थिक अभावका कारण काठमाडौं छोड्नु पर्‍यो ।

Advertisement

‘क्षणिक मृत्यु’ शीर्षकको चित्रमा नेपालीपन थियो । थकित किसान पल्टिएको चित्र पूर्व राजा ज्ञानेन्द्रले ५ सयमा किने

नयाँ सन्देश पत्रिकामा काम गर्ने शालिग्राम कोइरालामार्फत पुगेर पहिलोपटक कार्टुन बनाउन थाले । महिनाको ७० रुपियाँमा मौखिक सम्झौता भयो । पत्रिका बन्द हुँदै निक्लदै गर्दा २०२४ सालसम्म धेरै कार्टुन बनाए । तर शोषणमा परे, एक सुको पनि पाएनन् कलाकार बरालले ।

नेपाल ललित कला संस्था ‘नाफा’ले पहिलोपटक २०२२ सालमा गरेको राष्ट्रिय कला प्रतियोगितामा बराल पहिलो भए । ‘क्षणिक मृत्यु’ शीर्षकको चित्रमा नेपालीपन थियो । थकित किसान पल्टिएको चित्र पूर्व राजा ज्ञानेन्द्रले ५ सयमा किने । १२ सय पुरस्कार र चित्रको ५ सय पाउँदा बराल मख्ख परे । घरेलु छोडेपछि बेरोजगारीले सताइरह्यो । भएको सातुसामल पनि सकियो ।

५ दिन पानीको मात्र भरमा सुत्नु परेको क्षण सम्झदा उनलाई कथा जस्तै लाग्छ । निद्रा परेन । पाँचौ रात धेरै कल्पना गरेः भएन पेटको लागि जे काम भए पनि गर्छु । रिक्सा नै भए पनि चलाउँछु ।’ भोलिपल्ट बिहान टहल्दै थिएँ, किलागलका रामकुमार श्रेष्ठसँग भेट भयो ।

अहो कलाकारजी कता ? बसौँ। चिया खाऊँ ।
ढुंगा खोज्दा देउतै मिल्यो । बरालको व्यथा सुनेर श्रेष्ठमा सहानुभूति जाग्यो । अर्को व्यवस्था नभएसम्म १ महिनाका लागि म तपाईंलाई पाल्छु । श्रेष्ठको चिनाजानी जनक शिक्षा सामग्री केन्द्रको ड्राइभरसँग रहेछ । भनसुनपछि जिएमले काम दिए । केन्द्रको कला प्रमुख केशव दुवाडी थिए । मासिक १ सय ५० मा ज्यालादारी काम थाले ।

६ महिनापछि बराल स्थायी भए । त्यही मेसोमा लैनसिंह बाङ्देल आदि कलाकारसँग संगत भयो । त्यही बसाइमै अरुका कला देखेर उनले आफूलाई माझ्न पाए । २०२५ सालमा जागिरबाटै जापानको राजधानी टोकियोमा २ महिने कला तालिममा पुगे ।

जागिर खाएर प्रगति गर्न नसक्ने देखेर उनले पोखरा फर्कने निर्णय गरे । २०२६ सालको अन्त्यमा पोखरा फर्के । २०२८ सालमा मोहरियाटोलमा इगल आई आर्ट स्टुडियो खोलेर चित्र बनाउन थाले । फाट्टफुट्ट पर्यटक आउन थालेका थिए । हिप्पीहरुको जमाना । उनले चित्र बनाउन भ्याएनन् । पोखराको प्राकृतिक सौन्दर्य झल्कने चित्र तात्तातै बिक्री हुन्थ्यो । पैसोको दुःख हुन छाड्यो । हरेक दिन २/३ सय कमाइ हुन थाल्यो । १६ वर्षसम्म त्यो स्टुडियो चलाएका पुराना दिन बराल सम्झन्छन् ।

पछि उनले पृथ्वीनारायण क्याम्पसमा कलाको काम पाए । कलासम्बन्धी अध्यापन गराउन सुरु गरे । कलाकार बराललाई पानी रंगका चित्र बनाउने बानी परिसकेको थियो तर सामग्री काठमाडौँमा पनि भनेको बेलामा नपाइने भएपछि २०३२/०३३ सालमा भारतको गोरखपुर गएर चित्रकलाका लागि रंग, कुची र हाते कागज ल्याएर पनि बरालले कलालाई निरन्तरता दिइरहे ।

अहिले आर्टमा नयाँ नयाँ माध्यम विकास भएर भएका छन् । एक्रेलिक आएको छ । सुरुमा पानी रंगका चित्र, तेलचित्र एकदमै लोकप्रिय भए । अहिले पनि छन् । धेरै आर्टिस्टले तेलचित्र बनाउँथे । अहिले पनि कतिपय कलाकारले तेल रंग प्रयोग गर्छन् ।

एक्रेलिक र तेल उस्तै उस्तै हुन्छ । तेलचित्र र एक्रेलिक हेर्दा उस्तै देखिन्छ तर त्यो रंग लगाउने टेक्निक अलि फरक हुन्छ । प्राय कलाकारले चलाउने प्रिय रङ भनेको एक्रेलिक हो । वात्स्यायन ७९ वर्षका भए । बुढ्यौलीमा पनि उनको सिर्जनाको यात्रा निरन्तर छ ।

कलाकार वात्स्यायनले गम्भीर भएर भने, ‘कलिलो उमेरदेखि नै अँगार र खरीले चित्र कोर्न सुरु गरेको थिएँ । अहिले पनि व्यावसायिक कार्टुनको साथमा पानी रंगका चित्र बनाइरहेको छु ।’ हालसम्म ५ हजार चित्र बनाइसकेका बरालले कम्तीमा ५ हजारदेखि ८० हजारसम्ममा चित्रहरु बिक्री गरिरहेका छन् । कति साथीभाइलाई गिफ्ट दिए । वात्स्यायनका अहिलेसम्म काठमाडौँमा ६ पटक एकल प्रदर्शनी र सामूहिक रुपमा १ सय ५० वटा चित्रकलाका प्रदर्शनी भइसकेका छन् ।

वात्स्यायनका चित्रहरू जापान, बंगलादेश, भारत, जर्मनी, स्वीट्जरल्यान्डमा प्रदर्शन भइसकेका छन् । हालसम्म झण्डै ८ हजार कार्टुन बनाइसकेका कलाकार बराल विभिन्न पुरस्कार तथा सम्मान पत्रबाट सम्मानित छन् । उनले वि.सं. २०५० सालमा वासुदेव लुईंटेल गुठीबाट कदरपत्र पाए । ०४७ सालमा हास्यव्यंग्य समाज नेपालबाट सम्मानपत्र प्राप्त गरे ।

बराललाई शुक्ला साहित्य समिति (०६३), पृथ्वीनारायण क्याम्पस स्वर्ण जयन्ती २०६७, दयाशंकर पालिखे पत्रकारिता पुरस्कार ०६०, राष्ट्रिय प्रतिभा पुरस्कार ०५३, पोखरा फोटोग्राफर संघ ०६३, सृजनशील कलाकार समूह कास्की, ०६०, नारायणबहादुर सिंह स्मृति पुरस्कार, भैरव साँस्कृतिक संरक्षण समिति, गोपालदास पत्रकारिता पुरस्कार, विपी पत्रकारिता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार ०६७, हिमाली साँस्कृतिक परिवार ०६६ र शिरोमणि पुरस्कारबाट सम्मान गरिएको छ ।

उनले एक पटक संवैधानिक राजतन्त्रका बारेमा बनाउको काटुन निकै विवादमा पर्‍यो । धेरैले उनलाई तपाईं लुक्नुस्, तपाईलाई पक्राउ पुर्जी आउँछ भने । तर बरालले जे परे पनि म सामना गर्छु भनेर ढुक्क भए । उनीसँगै संगत गरेर बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, विश्व श्रेष्ठ, हरेराम जोजिजू, केदार पालिखे आदिले सिके ।

२०३४ सालमा नाफाको केन्द्रमा भएको झगडाले नाफा एकेडेमीमा गाभियो । त्यसपछि पुरानी शिल्पी समूह, पोखरा कलाकार समूह आदि खुले । प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट पनि सम्मानित बराल कुशल मूर्तिकार पनि हुन् । उनले पोखराको कुँडहरमा रहेको शिव र बुद्धको मूर्ति, भीमसेन मन्दिरमा रहेको भीमसेनको प्रतिमा, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको प्राङ्गणमा रहेको शिशु सहितको आमाको मूर्ति बनाएर आफ्ना अद्भूत कला प्रस्तुत गरेका छन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया