माछापुच्छ्रे गाउँपालिकामा १ लिटर दूधमा १ रुपैयाँ अनुदान

समाधान संवाददाता २०७९ चैत ३ गते १३:३५

कास्की ।
माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैंसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । पालिकाले उत्पादनका आधारमा ‘प्रोत्साहन कार्यक्रम’अन्तर्गत दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिने भएको छ । चालु आवमा दूधमा अनुदानका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो । पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ ।

यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका नौ वडाका कृषकले पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पशुपालनलाई व्यावसायिक बनाएर कृषकलाई समृद्ध बनाउन पालिकाले सहयोग गर्दै आएकोछ ।

Advertisement

कृषकको अवस्थाका बारेमा अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा लाभग्राही कृषक छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए । छनोट भएका कृषकसँग १ हप्ताभित्र सम्झौता गरिनेछ ।

व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउन लागिएको जनाइएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा पालिकाले ७ हजारदेखि २० हजारसम्म नगद उपलब्ध गराउनेछ ।

Advertisement

छनोट भएकामध्येमा ३६ लाई प्रतिकृषक २० हजार र बाँकीलाई ७ हजार उपलब्ध गराइने गाउँपालिकाका पशु सेवा शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । फार्म दर्ता भएका र धेरै संख्यामा पशुपालन गर्नेका लागि २० हजार र थोरै पशुपालन गरेर जीविकोपार्जन गरिरहेका साना कृषकका लागि ७ हजारका दरले उपलब्ध रकम गराइनेछ ।

गाउँपालिकाले ६ हजार ९ सय केजी बर्खे घाँसको बीउ कृषकलाई वितरण गरेको छ । पशु उत्पादन लागत कम गर्न र घाँसमा आधारित पशु आहाराका लागि सुडान र टिओसेन्टीक घाँसको बीउ वितरण गरिएको पशु शाखाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया