पढन संस्कृति बढाउन ‘बुक बक्स’

समाधान संवाददाता २०७९ चैत १३ गते १०:५९

पोखरा ।
तपाईले एउटा पुस्तक कति पटकसम्म पढ्नुहुन्छ ? राम्रा किताब अवश्य दोहोर्‍याई तेहेर्‍याई वा बढी पढ्नुहुन्छ । प्रिय लागेका पुस्तक साथमै राखिरहन मन लाग्छ । अझ अरुले पनि ती किताब पढून् भन्ने हुन्छ ।

यदि तपाईसँग पनि पुस्तक छन् र अरुले पनि ती पढून् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तक तपाईले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि कुनै शुल्क तिर्नुपर्दैन ।

बुक बक्सको मुख्य उद्देश्य नै निशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्यान्डको राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् ।

Advertisement

यो कन्सेप्ट गज्जब लाग्यो, जूना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाकी साथीसँग यो कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः पर्यटकीय नगरी पोखराबाट बुक बक्सको सुरुवात भयो ।

श्रेष्ठले शनिबार लेकसाइडस्थित दोर्जेज बार एन्ड ग्रिलको आडैमा बुक बक्स स्थापना गरेकी छिन् । छिट्टै नै पोखराका थप २ ठाउँमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्, ‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नै भयो सँगै पुस्तक रुचाउनेका लागि पनि आदानप्रदानका लागि सहज हुनेछ ।’

Advertisement

बुक बक्सको प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्, ‘हामीले यहाँ बक्स राखेका छौँ । यो बक्समा पुस्तक छन् । हरेर मन परेको पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यही ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तक छन् र अरुले पनि पढून् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । यो सबै निशुल्क हो ।’

बुक बक्सबारे थप जानकारीका लागि इन्स्टाग्राम अकाउन्ट ‘बुक बक्स नेपाल’मार्फत सम्पर्क गर्न सकिने उनले सुनाए ।

तपाईको प्रतिक्रिया