पोखरा ८ मा ब्याडमिन्टन स्पर्धा

समाधान संवाददाता २०७९ चैत १४ गते १८:१७

पोखरा ।
रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक ब्याडमिन्टन क्लबको संयोजनमा मंगलबारदेखि सुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्षसमेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो ।

यो जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामा तथा दोस्रो खेलमा रामकृष्ण तिमिल्सिना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको हो । अब यो जोडीले उपाधिका लागि सरोज श्रेष्ठ र सुनील पौडेलको जोडीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

सरोज र सुनीलको जोडीले पहिलो खेलमा रेशम गुरुङ र जसबहादुर गुरुङ तथा दोस्रो खेलमा रविन धमला र फुर्वा छिरिङ गुरुङको जोडीलाई पराजित गरेको थियो ।

Advertisement

ओपनतर्फ मंगलबार भएका खेलमा सुरेश तामाङ र नारायण रानामगरले नवीन गुरुङ र अभिषेक थापाको जोडीलाई, अखिलकुमार शाही र रेशम थापाले थमन र जीवन गुरुङको जोडीलाई पराजित गरे ।

विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ र जुक्तमान गुरुङलाई तथा चन्द्र गुरुङ र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई हराए ।

Advertisement

वडाध्यक्ष रुद्रनाथ बरालले अफिसियललाई खेल समाग्री हस्तान्तरण गर्दै प्रतियोगिता सुरुआत गरेका थिए । अध्यक्ष बरालले वडावासीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षबाट आफ्नों वडाले पनि खेलकुदका क्रियाकलाप सुरु गर्ने जनाए ।

वडा नम्बर ५ का पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले महानगरका हरेक वडाले खेलकुद गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा सचिव सविता ढुंगाना र वडा सदस्य गोविन्द बरालले पनि बोलेका थिए । प्रतियोगितामा ४२ खेलाडी सहभागी छन् ।

तपाईको प्रतिक्रिया