मुस्ताङ अस्पतालमा नयाँ इकाइ

सुन्दरकुमार थकाली २०७९ चैत १५ गते १०:३३

जोमसोम ।
मुस्ताङ अस्पतालमा मंगलबार सामाजिक सेवा इकाइ स्थापना भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा इकाइ थपिएको हो ।

जिल्ला समन्वय समिति मुस्ताङ प्रमुख माया गुरुङले इकाइ उद्घाटन गरिन् । गुरुङले राज्यले प्रत्याभूत गरेको स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउने अभिलाषासहित स्थापना भएको इकाइले स्वास्थ्य सेवालाई पारदर्शी र सेवामैत्री बनाउनुपर्नेमा जोड दिइन् ।

मुस्ताङका सिडियो अनुप केसीले इकाइको सेवा लक्षित वर्गसम्म पुग्नुपर्ने बनाए । कार्यक्रममा मुस्ताङ जिल्ला अस्पतालले वार्षिक प्रगति पुस्तिकासमेत सार्वजनिक गरेको छ । जिसस प्रमुख गुरुङ, सिडिओ केसी र अस्पतालका मेडिकल सुपरिटेन्डन विशाल तिवारीले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

Advertisement

यसअघि सामाजिक सेवा इकाइले प्रवाह गर्ने सेवा र लक्षित समूहको बिषयमा अस्पतालका कर्मचारी नवीन थापाले प्रस्तुतीकरण गरे । अस्पतालका मेडिकल सुपरिटेन्डन विशाल तिवारीले आर्थिक अभावमा कुनै पनि व्यक्तिको उपचारमा समस्या नआओस् भन्ने हेतुले इकाइ स्थापना गरिएको बताए ।

इकाइ स्थापना गर्न २०७९/०८० का लागि संघीय सरकारको सशर्त अनुदान १५ लाख दिएको थियो । इकाइमा सहजकर्ता नियुक्त गरिएको छ । सामाजिक सेवा इकाइ कार्यविधि २०७८ बमोजिम विभिन्न १२ समूहलाई लक्षित समूहको रुपमा सूचीकृत गरिएको हो ।

Advertisement

लक्षित समूहमा पर्ने गरिब, असहाय, अपांगता, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडित, बालबालिका, अभिभावक नभएका गरिब तथा बिपन्न, विपद् एवं प्राकृतिक प्रकोप पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, महिला स्वास्थ्य स्वंयसेविका, कुपोषित बालबालिका, थुनवा कैदी/बन्दी र परिवारलाई सामाजिक सेवा इकाइले स्वास्थ्य सेवामा निःशुल्क सेवा र आंशिक शुल्क छुट गरी स्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ ।

इकाइको मापदण्डमा पर्ने बिरामीले ओपिडी सेवामा १ हजार २ सय, इमर्जेन्सी सेवामा ४ हजार र एम्बुलेन्स सेवामा ५ हजार रुपैयाँ छुट पाउने व्यवस्था छ । उल्लिखित स्वास्थ्य सेवामा लक्षित समूहको पहुँच पुर्‍याउन इकाइले सघाउने विश्वास गरिएको छ । लक्षित समूहले ५० देखि शतप्रतिशत छुटमा सेवा लिने पाउने छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया