सहारा फुटबल एकेडेमीमा ३० नयाँ बालक भर्ना गर्ने तयारी

समाधान संवाददाता २०७९ चैत १६ गते २०:३४

पोखरा ।
सहारा क्लब पोखराले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा चौथो ब्याचका प्रशिक्षार्थी बालकलाई नयाँ भर्ना गर्ने तयारी गरेको छ ।

क्लबले सञ्चालन गरेको एकेडेमीमा आगामी २०८० वैशाखदेखि ३० जना बालकलाई भर्ना गर्ने अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए ।

यसअघि २०५८, २०६१ र २०७० सालका लागि एकेडेमी सञ्चालन गरी सकेको छ । उनले तेस्रो ब्याचको कक्षा उत्तीर्ण भएका विद्यार्थी जेठ महिनाको अन्तिम साता पास आउट हुने जानकारी दिए ।

Advertisement


एकेडेमीमा राख्ने प्रशिक्षार्थी बालकका लागि सहाराले न्यूनतम योग्यता तथा मापदण्ड तय गरेको छ । ‘कठिन परिस्थिति तथा विपन्न वर्गका बाबाआमाविहीन १० वर्ष ननाघेको र कक्षा ५ मा पढ्ने शारीरिक रुपमा तन्दुरुस्त बालकलाई भर्नाका लागि प्राथमिकता दिइएको छ,’ अध्यक्ष गुरुङले भने, ‘न्यूनतम योग्यता र मापदण्ड पूरा गरेर छनोटमा परेका बालकलाई एकेडेमीमा राखिने छ ।’


अध्यक्ष गुरुङले एकेडेमीबाट उत्पादित प्रशिक्षार्थीहरु चर्चित फुटबल खेलाडी बनेको दाबी गरे । ‘अबको राष्ट्रिय फुटबल टिममा हाम्रा खेलाडीहरु पर्ने सम्भावना देखिन्छ,’ उनले भने ।

Advertisement


सहाराले एकेडेमीमा बालकहरुलाई कक्षा १२ सम्मको शिक्षा, खानपान पालन पोषण, स्वास्थ्य र आवासको व्यवस्था गर्दै आएको छ । अध्यक्ष गुरुङले बालकाको व्यवस्थापनका लागि वार्षिक झण्डै ३० लाख रुपैयाँ खर्च हुने जानकारी दिए ।

सहाराले २०५८ सालदेखि आहारारा गोल्ड कप फुटबल प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिताबाट बचत रकम एकेडेमीमा खर्च गर्दै आएको छ । अध्यक्ष गुरुङले फुटबल प्रतियोगिताको बचत गरेको रकमबाट एकेडेमी चलाउने अवस्था नभएको जानकारी दिए ।


पोखराका उद्योगी स्वर्गीय सूर्यबहादुर केसीको परिवारजनबाट वार्षिक १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ । सहाराले एकेडेमी सञ्चालनका लागि स्थापना भएको अक्षय कोषमा अहिलेसम्म २ करोड ४० लाख संकलन भएको छ । वार्षिक रुपमा प्रति प्रशिक्षार्थी १ लाख खर्च लाग्ने उनले बताए ।


क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले शुल्क तिरेर घरबाट आउने जाने गरेर फुटबल प्रशिक्षणको व्यवस्था गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजीप्रसाद अधिकारीले सहारा छात्रवास फुटबल एकेडेमीको सञ्चालन व्यवस्थापनको बारेमा जानकारी दिए । उनले कठिन परिस्थिति र विपन्न वर्गका बालकको संरक्षण गर्ने अवधारणालाई फेर्न नसक्ने बताए ।

तपाईको प्रतिक्रिया